लिलक सिटौला,
मैले जे सोचेको थिएँ, त्यो भएन । म खाली राम्रो पढेर जागिर खाने र जागिर खाएपछि अर्को अर्थात्, एउटी असल केटीसँग सम्बन्ध राख्ने प्रयासमा थिएँ । अनि छोराछोरी जन्माउने, बस् । यहीमात्र जीवन हो जस्तो लाग्दथ्यो । यसको मतलव मेरो सोचाइँले काम गरेजस्तो लागेन । केबी गुरुङ र तोयानाथ भट्टराई, चक्रबहादुर साउदेनहरुले मलाई च्याप्पै समाते । मैले पार्टी होइन, विद्यार्थी राजनीतिमा बढ्ने विश्वास इलाम जिल्लाका नेताहरुलाई बुझाइ, मलाई सबैभन्दा बढी माया तोयानाथ भट्टराईले गर्नुहुन्थ्यो । वहाँबाट पनि म प्रभावित थिएँ । हरि खनाल पनि के के गर्दथे, कांग्रेसको काममा । कांग्रेसहरुसँगको संगतबिना नेविसंघ पार लाग्दैन थियो । मैले त्यो काम पूरा गरेको थिएँ ।

 

इलाम जिल्ला पञ्चायत नै इतरपक्षलाई दबाउनुमा लागेको मैले थाहा पाएँ । इलाम बजारदेखि बाहिरका धेरै साथीहरु क्याम्पस पढ्न आउनुभएको थियो । भन्नुको मतलब, मेरा धेरै साथीहरु थिए । त्यो बेला मलाई आनन्द लाग्थ्यो । मलाई के लाग्यो भने, जीवन शनिश्चरे, कर्म इलाम, खानपान भगवानको बरदानमात्र हो जस्तो लागेको थियो । त्यसबाट बच्नका लागि केही साथीहरुसँग सरसल्लाह गर्दा कुरो मिल्यो । अहिलेजस्तो त्यो बेलामा केदार थापा (हाल इलाम नगरपालिकाका मेयर), रमेश डिसी, सरेश सापकोटा, मोहन शिवाकोटी, साथीहरुसँग सल्लाह गर्दा । अब आफूलाई बचाउने उपायमा एउटा संगठन खोल्ने निर्णय भयो ।

 

भोलिपल्ट आदरणीय उमाराम प्रसाईको घरमा हामी करिब २१ जना साथीहरुको भेलाले मेरो अध्यक्षतामा एउटा ५१ जनाको संगठन खोलियो । त्यस संगठनको काम, कर्तव्य र अधिकार भनेको एउटा साथीलाई कसैले छुँदा वा धुलाइ दिँदा ५० जना मिलेर त्यस व्यक्तिको धुलाइ गर्नेमात्र थियो । अर्थात्, पञ्चायतीहरुको विरोधमा कांग्रेसहरुको संगठन बढाउने प्रयत्न थियो । त्यो संगठन अर्थात् संस्थाको नाम ‘बारुले संगठन’ थियो । बारुलालाई कसैले चलायो भने बारुला कसरी कुद्थ्यो, यही उद्देश्यले हामी अगाडि बढेका थियौँ ।

 

यसमा आवद्ध साथीहरुको नाम यसअघि नै उल्लेख गरेकाहरु नै हुन् । यसमा हामी केटाहरु मात्र थियौँ । महिलाहरुलाई लिएका थिएनौँ । संगठन खोलेको थाहा पाएर हामीलाई कसैले छुन सकेन, र कुनै साथीहरुले कुटाइ पनि खाएनन् । हामी ढुक्क भएर पढ्ने वातावरण बन्यो । अर्को खुसी अन्यायको विरोधमा बोल्न पाएका थियौँ । त्यसो त शनिश्चरे माविमा पनि न्यायको पक्षमा उभिएको हामी नै थियौँ । इलाममा शनिश्चरेको अनुभवले काम गरेको थियो । यसको मतलव अनुभव नै अघि बढ्ने कसी हो जस्तो लाग्यो ।

 

अलिक पछि गएर म उमाराम सरको डेरामा एक्लै भइँन, मैले सरसँग सल्लाह गरेर म बसेको डेरामा मेरा साथीहरु प्रदिप तामाङ, चुडामणी थपलिया र कहिलेकाहीँ मोहन शिवाकोटीहरु आएर बस्ने थलो भयो । घर भाडाको पैसा तिर्नु पर्दैनथ्यो । समय र संगठन राम्रोसँग चल्दैथ्यो । मेरो मित्र प्रदिपजीले हामी बसेको डेराबाट पूर्वपट्टि गिरी आमैको घरबाट लोकल कुखुरा शिकार गरेर ल्याएका रहेछन्, मस्तले पकाएर खाएको अहिलेजस्तो लाग्छ, शिकार खाइयो हामी तीनै भाइले ।

 

भोलिपल्ट क्याम्पसबाट फर्केर आउँदा डेरामा सर उमाराम आएर मलाई भन्नुभयो, लिलक यो कुखुरा खाने पैसा कहाँबाट आयो ? मैले छिट्टै उत्तर दिएँ, मलाई थाहा छैन तर कुखुरा प्रदिपले ल्याएको हो, किनेर ल्याएको भन्थ्यो । किनभने चैनपुरेको नाति, पिटी सरको छोरा प्रदिपले कुखुरा चोरेर ल्याएको भन्ने मलाई विश्वास नै थिएन । म अलमलमा परेँ । सरले सल्लाह दिनुभयो, यस्तो काम अर्थात् कुखुरा चोरेर नखानु, खानु मन लागे मलाई भन्नु भन्नुभयो । म केही बोलिनँ ।

 

क्याम्पस पढ्ने विद्यार्थीहरुसँग के हुन्थ्यो त्यो बेलामा, जसले ल्यायो खानेकुरा खाए भइहाल्थ्यो । हुन त प्रदिपले हामीलाई धेरै कुखुराहरु ख्वाइसकेको थियो । तर, सबै कुखुरा गिरी आमैको नै रहेछ । प्रदिपसँग पनि कालिस्थानबाट पैसा नै आउँदैन थिएछ, त्यो बेलामा प्रदिपमात्र नभएर म र चुडामणी थपलिया नि चोरेको कुखुरा खानेमा दर्ता भएका थियौँ । यसबाट भाग्ने उपाय थिएन ।
– शनिश्चरे, झापा