बिर्तामोड । बुद्ध इन्टरनेशनल डिटलिङले झापाको बिर्तामोडमा ‘कार्ज स्पा’ सञ्चालनमा ल्याएको छ । कार तथा मोटरसाइकलको डिटलिङ गर्ने कार्ज स्पा नेपालमा सन् २०१९ देखि सञ्चालनमा छ । बिर्तामोडको ‘कार्ज स्पा’ नेपालकै तेस्रो हो । भारतमा भने सन् २००७ देखि नै सञ्चालनमा थियाे ।
बिर्तामोडको भद्रपुररोडमा बिहीबारदेखि सञ्चालनमा आएको कार्ज स्पाको एक कार्यक्रमका बीच नायिका वर्षा राउतले उद्घटन गरिन् । उनले आफू पनि काठमाडौँमा रहेको कार्ज स्पामा सुरुदेखि नै ग्राहकको रुपमा रहेको पनि सुनाइन् । उनले भनिन्, आफ्ना साना छोराछोरीलाई जसरी स्यहार गरिन्छ, म त्यसरी नै सवारी साधनलाई सुरक्षित राख्छु ।
तीन वर्षअघि नेपालमा खुलेको ‘कार्ज स्पा’ काठमाडौँपछि प्रदेश १ कै इटहरीमा दोस्रो शाखाको रुपमा सञ्चालनमा आएको थियो भने बिर्तामोड तेस्रो शाखा भएको बताइयो । कार्ज स्पाबाट गाडीको पुनस्र्थापना तथा संरक्षण गर्ने कार्य हुने र गाडीको लुक्सलाई ध्यान दिने गरिएको दाबी छ ।

करिब १ करोडभन्दा बढीको लगानीमा बिर्तामोडका व्यवसायीहरु अजित खनाल, अर्जुन चापागाई र दिपक सुवेदीले कार्ज स्पा सञ्चालनमा ल्याएका हुन् । यहाँ चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनलाई सर्भिस दिइने सञ्चालक खनालले बताए । उनका अनुसार गाडीको सेराभिक गर्न इटहरी र काठमाडौँ जाने झञ्झट हटेको छ ।
कार्ज स्पामा तीन वटा प्याकेजमा चार पाङ्ग्रेलाई २७ हजारदेखि ३ लाखसम्म र दुई पाङ्ग्रेलाई १२ हजारदेखि ३८ हजारसम्मको सेवा शूल्क तोकिएको छ । आन्तरिक तथा बाह्य अवस्थाको ख्याल राख्ने कार्ज स्पाले गाडीलाई लामो समयसम्म चुस्त राख्ने दाबी गरिएको छ । यसलाई मर्मत सम्भारको सेवा पनि भनिन्छ ।

नयाँ तथा पुराना गाडी कार्ज स्पाका लागि आउने बताउँदै अर्का सञ्चालक चापागाईले नयाँ गाडीका लागि क्रिस्टल सिल्ड सेरामिक कोटिङ र पेन्ट प्रोटेक्सन फिल्म तथा पुराना गाडीका लागि नयाँ अवस्थामा ल्याउनका लागि भरपर्दो सेवा रहेको जानकारी दिए ।
पछिल्लो समय गाडीको सौखले महँगा गाडी खरिद गरिए पनि अटो डिटलिङका बारेमा धेरैलाई थाहा नभएको अर्का सञ्चालक सुवेदीले बताए । उनका अनुसार महँगा गाडी किनेर घरमै गाडी धुने, भ्याकुम लगाउने र वास गर्ने गरिएको छ तर गाडीलाई चुस्त र सुन्दर राख्नका लागि कार्ज स्पा प्रभावकारी देखिएको दाबी गरिएको छ ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीलगायतले आफ्ना भनाइ राखेका थिए । बिर्तामोडपछि पोखरा, बुटबल, नेपालगञ्जलगायतका ठुला सहरमा शाखा विस्तार गर्न लागिएको बताइएको छ ।