शनिश्चरे । समाजमा हुने हिंसात्मक गतिविधि तथा सामाजिक कोलाहल न्यूनीकरण गर्नका लागि झापाको अर्जुनधारा नगर क्षेत्रमा राति ९ बजेदेखि होटल सञ्चालन गर्न नपाइने भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शनिश्चरे प्रहरी चौकी व्यवस्थापन समितिसँग आज भएको सर्वपक्षीय छलफलले यस्तो निर्णय गरेको हो ।
भित्रिएको नेपाली चाडलाई शान्तिपूर्वक मनाउनका लागि सुरक्षासम्बन्धी छलफल तथा शुभकामना आदानप्रदान कार्यक्रममा यस्तो निर्णय गरिएको हो । चाडपर्वमा हुनसक्ने जोखिमको विषयमा चौकीले लागु गर्ने सुरक्षा योजना तर्जुमा तथा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको चौकीका प्रमुख प्रहरी नायव निरीक्षक रवि राईले जानकारी दिए ।
अर्जुनधारा ८ स्थित सामुदायिक भवनमा समितिका अध्यक्ष अशोक विष्टको अध्यक्षता र अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा होटल सञ्चालनसँगै अन्य विषयमा पनि छलफल भइ निर्णय भएको छ ।
छलफलबाट ट्राफिक नियमको अनिवार्य पालना गर्नुपर्ने, होटल व्यवसाय राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने, डाइस तथा तासजुवा पूर्णरुपमा बन्द गराइने, मादक पदार्थ सेवन गरेर होहल्ला गर्न नपाइने निर्णय गरिएको राईले बताए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख गोम्देनले अपनत्व ग्रहण गर्दै मादक पदार्थ सेवन गरेका व्यक्ति पक्राउ परेको खण्डमा निकाल्नका लागि कसैले पनि प्रहरीलाई सिफारिस गर्न नहुनेमा जोड दिए । उनले कानुनविपरीत कार्य गर्नेलाई प्रोत्साहन गर्न छाडेको खण्डका व्यक्ति आफैँ सुध्रिने पनि बताए ।
छलफलले गरेको निर्णय पुस्तिकामा समितिका अध्यक्ष विष्ट, नगर प्रमुख तामाङ, वडाध्यक्षहरु उपेन्द्र बस्नेत, सीताराम भट्टराई, अम्बरबहादुर कटुवाल, गीताराज खड्का, हरिशचन्द्र बाँस्तोला, गोविन्दप्रसाद खतिवडा, कुमारप्रसाद उप्रेती, भूपेन्द्र न्यौपाने र खगेन्द्र इङनाम, नेकपा एमाले नगर कमिटीका सचिव लवकुश गौतम, नेपाली काँग्रेसका नेता मदन बुढाथोकी, अर्जुनधारा उद्योग वाणिज्य संघका सचिव चर्तुभूज काफ्ले, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतले हस्ताक्षर गरेका छन् ।
सोही कार्यक्रममा चौकी प्रमुख राईले चौकीको स्तरोन्नती र जीर्ण भवनको मर्मतलगायतको विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा अर्जुनधारा ८ का वडाध्यक्ष उप्रेती, नेकपा एमाले नगर कमिटीका सचिव गौतम, नेपाली काँग्रेसका नेता बुढाथोकी, अर्जुनधारा उद्योग वाणिज्य संघका सचिव काफ्ले, समितिकी पूर्व सदस्य देवकला प्रसाईं, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक होमनाथ दाहाललगायतले मन्तव्य राखेका थिए ।
चौकी प्रमुख राईले औचित्य तथा स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन प्रहरी सहायक निरीक्षक यमनाथ भट्टराईले गरेका थिए ।