काँकरभिट्टा । नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का उम्मेद्वार विश्वप्रकाश शर्माले लोकतन्त्रलाई स्थायित्व कायम गर्नु छ भने यहाँका आदिवासी जनजाति र भूमिपुत्रहरुको अधिकार सुरक्षित हुनुपर्ने बताएका छन् । आदिवासी जनजाति महासंघ झापाले उम्मेद्वारसँग काँकरभिट्टामा गरेको अन्तरक्रियामा उम्मेद्वार शर्माले वाक स्वतन्त्रतादेखि हरेक नेपालीको मौलिक सांस्कृतिक र पहिचान स्थापित गर्नसके मात्र लोकतन्त्रको स्थायित्व रहने दाबी गरे ।
काँकरभिट्टाको सामुदायिक भवनमा आयोजित कार्यक्रममा नेता शर्माले थुप्रै प्रश्नको जवाफ दिँदै राष्ट्र सक्षम रहे नेपाल सक्षम रहनेमा जोड दिए भने झापाको दमकमा रहेको आदिवासी रंगशालालाई स्थायित्व कायम गर्न तत्पर रहेको बताए ।
अन्तरक्रियामा एमालेका उम्मेद्वार अग्नी खरेलले समग्र जातिको विकास गर्न नेकपा एमालेले दृढ संकल्प लिएको बताए । उनले अगाडि भने, ‘२०६२/०६३ को जनआन्दोलनको जगलाई टेकेर संविधान बने पनि थुप्रै अधिकारहरु सुनिश्चित गर्नुपर्ने भएको हुँदा नेकपा एमाले तयार रहेको छ ।’
कार्यक्रममा संघीय समाजवादीका उम्मेद्वार राजा थापाले पहिचानवादी शक्तिहरु एक हुनुपर्ने बताउँदै आदिवासी जनजातिहरुको हक सुनिश्चितताको लागि आफू तयार रहेको बताए । क्षेत्र नं १ प्रदेश सभा ‘१’ का उम्मेद्वार रविन कोइरालाले स्थानीय स्तरबाट उठेका थुप्रै मुद्दा हल गर्न आफू तयार रहेको बताए ।
लोकतान्त्रिक बाम गठबन्धनका गोपाल तामाङले संघ सरकारले देख्न नसकेका कामहरु आफू निर्वाचित भए पूरा गर्ने वाचा गरे । अर्का उम्मेद्वार श्यामबीर लिम्बूले पहिचानको वकालत गर्दै आएको आफ्नो पार्टी माओवादीले आदिवासीका थुप्रै मुद्दाहरुलाई समाधान गर्न लागिपरेको हुँदा आफू एक इन्च तल नहट्ने दाबी गरे ।
संघीय समाजवादीबाट प्रदेश ‘२’ का उम्मेद्वार ओमप्रकाश खापुङले क्षेत्र नं १ मा आदिवासीका मुद्दा अनगिन्ती रहेको भन्दै आदिवासीका समाधिदेखि लिएर शिक्षा, स्वास्थ्यको उत्तिकै समस्या भएको हुँदा त्यसको दीर्घकालिन समाधानका लागि आफू तयार रहेको बताए ।
महासंघ अध्यक्ष पाण्डवलाल चौधरीको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण फोनिजका कमन देवानले गरेका थिए । महासंघका उपाध्यक्ष केवलराम राईले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा १ नं क्षेत्रभरिका आदिवासी जनजाति तथा अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।