लिलक सिटौला,
हामी इलाम कलेज पढ्ने विद्यार्थीहरुको एकता राम्रो थियो । हाम्रो व्याजीहरुले पनि एक वर्ष पार गरेको कारणले हाम्रो पनि इलाम कलेजमा हक लागेको अर्थात् मोहियानी हक लागेको हामीले अनुभव गरेका थियौँ । अर्थात् त्यस्तै लाग्न थालेको थियो । मानौ हामी सिनियर पार्टी हो । हामी सिनियर भएपछि हामीभन्दा नयाँ साथीहरुलाई स्वागत गर्ने जिम्मा हाम्रो थियो ।
त्यसबेला जुन विद्यार्थी संगठनले स्वागत गर्यो त्यही संगठन ठुलो बन्ने सम्भावना थियो । त्यो नेविसंघ होस् या अन्य पार्टीका भातृ संगठन । पार्टीको निर्देशनमा हामी सबै एक अर्कासँग लड्नु थियो । त्यो बेला पनि तँभन्दा म ठुलो हुने चलनमात्र थिएन, पढ्न गएका विद्यार्थीहरुबीच कुटाकुट नै हुन्थ्यो । पञ्चायत समर्थक विद्यार्थीहरु हाँसेर बसेका हुन्थे ।
इलाममा त्यो बेला पञ्च र कम्युनिष्टहरुको बोलवाला थियो । हामीले पनि नेविसंघबाट नयाँ आउने विद्यार्थी साथीहरुलाई स्वागत गर्ने निर्णय गरेका थियौँ । त्योबेला सूचना सञ्चार त्यति गतिलो थिएन । तर, पनि हामीलाई कतैबाट खबरहरु आउने गर्दथ्यो । त्यो खबर थियो, हाम्रो कार्यक्रम गर्न नदिने । त्यस खबरको विरोधमा हामीले पनि हाम्रो कार्यक्रम गरेरै छाड्ने निर्णय गरेका थियौँ । हामी हिजो विभिन्न संगठनका विद्यार्थीबीचको एकता कति राम्रो थियो, त्यो बचाउनु हामीलाई नै मुस्किल भएको अनुभव मैले र मेरा साथीहरुले गरेका थिए ।
तर, पनि अभिभावक भूमिकामा नेपाल विद्यार्थी संघ नै रहेको थियो । जसरी भए पनि सबै साथीहरुको सहयोगमा काम गर्नुपर्ने बाध्यता थियो । इलाम जिल्ला अर्थात् इलाम बजारको राजनीति मैले अति सरल र इमानदारिता भएको मैले पाएको थिएँ । त्योबेलामा झापामा जस्तो फोहोरी राजनीति इलाममा थिएन । मलाई के लाग्यो भने हावापानीअनुसारको मानविय जीवन र राजनीति पनि त्यही अवस्थाको हुँदारहेछ । शान्त स्वभावमा मानिसहरुको बसोबासले इलाम त्यसै रमाइलो थियो ।
तर, पनि रणनीतिमा धेरै छलकपट हुँदोरहेछ भन्ने कुरा मैले त्यसैबेला बुझिसकेको थिएँ । त्यसको अनुभवचाहिँ म शनिश्चरे स्कुल जीवनमै नेविसंघको अध्ययन भएको बेलैबाट थाहा पाएको कुरा पनि थियो । त्यसबेला शनिश्चरेमा चिनियाँ नेता माउत्सेतुङको रेड किताबहरु खुलेआमा बाँडिन्थ्यो अर्थात् वितरण हुन्थ्यो । हाम्रा पनि केही किताबहरु भए पनि पञ्चायती सरकारले पारिबाट अर्थात् हिन्दुस्थान भारतबाट आउन रोक लगाएको थियो । तरुण पत्रिका बनारसबाट छुटपुट लुकाएर ल्याइएको मात्र पढ्न पाइन्थ्यो ।
इलाम क्याम्पसमा विद्यार्थी एकता भाँड्ने नीति पञ्चइतरको रहेको थियो । हामी र अखिलबीच विचारको पर्वत तानातान भएको बेला पञ्चायती सरकारबाट अखिलका साथीहरुलाई हाम्रो विरोधमा प्रयोग गरेको अनुभव म र मेरा साथीहरुलाई भयो । मलगायत टंक बस्नेत, राजेन्द्र शर्मा, दुर्गा खरेल, रमेश डिसी, केदार थापाहरु नगर प्रमुख बेनुपराज प्रसाईलाई भेट्न गएका थियौँ । भेटमा वहाँले राम्रो कुरा गर्नुभयो । भन्नुभयो, ‘तपाईहरु स्वागत कार्यक्रम गर्नुहोस्, मेरो सहयोग हुन्छ ।’ बस्, हामीलाई के चाहियो त्यति भए पुगिहाल्यो ।
हामी विद्यार्थी जीवनको आनन्द स्वागत कार्यक्रममा जुटेका थियौँ । दाइ निवज गुरुङ, दिदी सुलोचना कर्मचार्यहरुको सल्लाहमा हामी हिँडेका थियौँ । कार्यक्रमको बारेमा सुलोचना दिदीको सल्लाहमा हामीले समर्थन पनि जनायौँ । इलामको प्रसिद्ध चिया बगानको सुन्दर वातावरणमा दिदीको बासस्थान थियो । छेउमा मेरो साथी दावा लामाको थियो । दिदीले हामीलाई भन्नुभयो, ‘प्रतिपक्ष अर्थात् अखिलहरु तिमीहरुभन्दा बलिया छन्, तिमीहरुलाई एकैछिनमा सिध्याउँछन् ।’ वहाँले हामीलाई डर देखाउनुमात्र भएन एउटा लडाइँ लड्ने बुट्टी पनि दिनभयो । बुट्टीको नाम थियो, सुकेको खुर्सानी पिसेर राख्नु, काम आउँछ ।
हामी सबै साथीहरुले गोप्यमा कुरा बुझेर आआफ्नो घर र डेरातर्फ लागेका थियौँ । सुकेको खुर्सानी पिस्ने काममा हामीलाई मञ्जु प्रसाई, दया वैद्य, लता भट्टराई, जानुका भक्तराज, सुशिला सिवाकोटी, सुष्मा कपिल, पवित्रा कार्की, तारा भण्डारी, मञ्जु निरौलालगायत अरु पनि धेरै साथीहरु थिए ।
सुकेको खुर्सानी पिस्नेहरुमा साथ दिने बारुलेदेखि अरु धेरै साथीहरु थिए । काम फटाफट भइरहेको थियो । त्यसबेलामा पढ्ने कामै हुँदैनथ्यो । खाली झगडा, लफडा अर्थात डा… भन्ने शब्दको बोलावाला क्याम्पसमा थियो । मर्न र मार्नसँग कुनै विद्यार्थी डराउँदैनथे । यो कार्यक्रमलाई सफल पार्न सम्पूर्ण नेविसंघका नेता र समर्थक विद्यार्थी साथीहरु लागेका थिए । अब खेल भोलिदेखि सुरु हुन्छ । क्रमशः