काठमाण्डौं– राष्ट्रियस्तरबाट हुने सर्वाधिक ठुलो क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप आजबाट सुरु हुदै छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण टीयु मैदान कीर्तिपुरमा नेकपा अध्क्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने कार्यक्रम रहेको छ । मुलपानि क्रिकेट मैदानमा उदघाटन गर्ने तयारी यसअघि गरिएपनि राखेपले प्रतियोगिताको उदघाटन अन्तिम समयमा टियु मैदानमा नै गर्ने निर्णय गरेको हो ।

नेपाल इन्नेशनलका अध्यक्ष शुभाष प्रधानले मुलपानि मैदान खेल्नका लागि योग्य भएपनि कुनैपनि पक्ष कमजोर नहोस भन्नका लागि अझै दुई दिन समय लिएको बताए । उनले भने ‘मुलपानीमा अभ्यास गरेर हेरेका छौं । सबै खेल्न लायक छ तर पहिलो प्रतियोगिता भएकाले कुनैपनि कुरामा नचुकौं भन्नका लागि थप दुई दिन लिने निर्णय गरेका छौं।’ उनले मुलपानिमा हुने प्रतियोगिता १२ जेठबाट हुने जानकारी दिए ।

प्रधानमन्त्री कपको खेल तालिकामा परिवर्तन भएपनि तोकिएको मितिमानै प्रतियोगिता समापन हुने प्रधानले बताए । उनले भने ‘जसको जुन टिमसँग खेलाउने हो त्यो यथावतनै रहन्छ तर खेल मितीमा भने केहि परिवर्तन हुन्छ । त्यसको परिर्वतन मिति शुक्रबारनै सार्वजानिक गर्ने छौं ।’ शुक्रबारबाट सुरू हुने प्रतियोगिता २५ जेठसम्म सन्चालन हुने छ ।

मुलपानी र टियु क्रिकेट मैदान कीर्तिपुरमा चल्ने प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरि १० टोली रहेका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतिष्पर्धा गराँइदै छ । समुह ए मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदुरपश्चिम र गण्डकी रहेका छन् । समुह बी मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् ।

राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । प्रधानमन्त्री कपको विजेताले ट्रफिसहित २० लाख प्राप्त गर्ने छ । दोस्रो हुने टोलीले १० लाख पाउँदा उत्कृष्ट खेलाडीले मोटर साइकल प्राप्त गर्ने छ । उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन् ।