शनिश्चरे । प्रकृतिपूजक किरात समुदायले झापाको अर्जुनधारामा चासोक तङनाम (उधौली पर्व)को भव्य तयारी गरेका छन् । किरात सभ्यताअनुसार संस्कार, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले अर्जुनधारा १ स्थित मदनपुर खेल मैदानमा चासोक तङनामको तयारी गरिएको हो ।

 

अर्जुनधारा नगरपालिकाको खुदुनाबारी बजारसहित केही वडाले मात्र मनाउँदै आएको चासोक तङनाम यसपटक सिंगो नगरको वडाबाट मनाउने तयारी भइरहेको आयोजक समितिका सचिव खगेन्द्र लिङदेनले बताए । उनका अनुसार यसपटक नगरको ११ वटै वडाका किरात समुदायको सहभागितामा चासोक तङनाम मनाउन लागिएको हो ।

 

चासोक तङनाम भव्य र सभ्यरुपमा सम्पन्न गर्न राजेश जवेगुको अध्यक्षतामा ५१ सदस्यीय मुल आयोजक समिति निर्माण गरिएको छ भने विभिन्न उपसमिति गठन गरिएको छ । उनका अनुसार यही मंसिर २१ र २२ गते चासोक तङनाम आयोजना गरिएको छ ।

 

पहिलो दिन किरात मुन्धुमअनुरुप पूजाआजा गरी गाली श्राप बगाइने छ । त्यस्तै, विभिन्न खेलहरु सञ्चालन गरिने आयोजकले जनाएको छ । स्थानीय अग्रज लक्ष्मी इङनामको संयोजकत्वमा खोला पूजा उपसमिति निर्माण गरिएको छ ।

 

यस्तै, विजेन्द्र येक्तेनको संयोजकत्वमा अतिथि स्वागत समिति, महेन्द्र आङदेम्बेको संयोजकत्वमा खेलकुद सञ्चालन समिति, गर्जमान सुब्बाको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति र मोहन सुब्बाको संयोजकत्वमा मञ्च तथा खाद्य व्यवस्थापन समिति निर्माण भएको छ ।

 

नगरभरि मनाइँदै आएको चासोक तङनामलाई एकरुपता दिन र एकै स्थानमा भाइचारा सम्बन्ध स्थापना गर्दै सांस्कृतिक जगेर्नामा जुट्न यस वर्षदेखि थालनी गरिएको आज आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष जवेगुले बताए ।

 

उनका अनुसार विभिन्न जातीय झाँकीसहित सांस्कृतिक कार्यक्रम, साकेला, च्याब्रुङ, हुर्रा नाच प्रस्तुत गरिने कार्यक्रममा विभिन्न परम्परागत खेल पनि खेलाइने भएको छ । त्यस्तै, विभिन्न जात जातिका मौलिक परिकार तथा भेषभुषाका करिब १५ वटा स्टल पनि राखिने भएको छ ।

 

यसैगरी, यसै वर्षदेखि नगरका एक जना व्यक्तित्वलाई स्रष्टा सम्मान समितिले निर्णय गरेको छ । यसपटक किरात साहित्यकार नरबहादुर योङहाङ (नवल फाइवाली)लाई मरणोपरान्त ‘किरात साहित्य योगदान सम्मान’ गरिने भएको छ ।

 

यस्तै, खेल मैदान परिसरमा किरात समुदायका लागि सुरक्षा कवचका रुपमा परिभाषित सिलाम साक्माको फलामे प्रतिमा चासोक तङनामको अवसरमा स्थापना गरिने समितिका उपाध्यक्ष विजय सेन्दाङले बताए ।

 

चासोक तङनाम सम्पन्न गर्नका लागि ७ लाख ५० हजार खर्च लाग्ने अनुमान आयोजकको छ । समितिकी कोषाध्यक्ष सर्मिला फागोका अनुसार स्थानीय दाताको सहयोगबाट चासोक तङनाम सम्पन्न गर्न लागिएको हो । जसमध्ये १ लाख रुपैयाँ बचत गरी अक्षयकोष स्थापना गरिने भएको छ ।

 

स्रष्टा सम्मानलाई निरन्तरता दिन र चासोक तङनामलाई स्थापित गराउनका लागि अक्षयकोष निर्माण गर्न लागिएको बताइएको छ । अर्जुनधारा क्षेत्रमा रहेका किरात समुदायलाई एकै स्थानमा चासोक तङनाम मनाउन पहिलोपटक पहल गरिएको हो ।