खुदुनाबारी । अर्जुनधारा क्षेत्रका किरात लिम्बू समुदाय (याक्थुङ्बा)हरुको अगुवाईमा भएको उधौली पर्व (चासोक तङ्नाम) सुरु भएको छ । चासोक तङ्नामलाई महोत्सवको रुपमा लिँदै पहिलो दिन साक्मुरासँगै नयाँ अन्नको पूजा सम्पन्न भएको छ ।

 

पूजा संयोजक लक्ष्मी इङ्नामको अध्यक्षतामा भएको गाली श्राप बगाउने तथा नयाँ अन्न पूजालाई पूर्णता दिनका लागि किरात साब्दिक गुरु दिलबहादुर लोवा, भिमबहादुर कुरुम्बाङ र लक्ष्मी फागोले मुन्धुमी पाठ गरि गाली श्राप साक्मुरा सम्पन्न गरेका थिए ।

 

बिहान ७ बजेबाट टाङटिङ नदीको किनारमा साक्मुरा पाठ गर्दै सम्पूर्ण नगरबासीलाई आइपर्ने विपत्तिको अन्त्य होस् र पिता पूर्खाले जानअन्जानमा बोलिएका अपशब्दको अन्त्य होस् भनी अर्जुनधारा क्षेत्रका याक्थुङ्बा तथा अन्य आदिवासी जनजातिहरुले सतबीज छर्दै गाली श्राप बगाएका थिए ।

 

गाली श्राप बगाउने कार्यक्रममा अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई इङ्नाम, नेपाली कांग्रेसका नेता मोहन सुब्बा, चासोक तङ्नाम आयोजक समितिका अध्यक्ष राजेश जवेगु, महोत्सव समितिका उपाध्यक्ष विजय सेन्दाङ, महिला नेतृ मीना पन्धाक, सञ्चमाया इङ्नाम, वडा नं ११ का वडाध्यक्ष खगेन्द्र इङ्नाम, फोनिजका पूर्व इन्चार्ज दिपीन राई, नरबहादुर कन्दङ्वा, नरेन्द्र इङ्नाम लगायतले पूजापाठमा सरिक भई चासोकको महिमाका विषयमा ध्यान पुर्याएका थिए ।

 

साक्मुरा पाठ तथा चासोक तङ्नामको पहिलो दिन प्रमुख अतिथि भूपू माननीय शेरबहादुर इङ्नामले यस्ताखाले कार्यक्रमबाट विश्व शान्ति भाइचारा एकतामा टेवा पुग्ने बताएका थिए ।

 

बिहीबार चासोक तङ्नामको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । औपचारिक कार्यक्रममा किरात साहित्यमा महत्वपूर्ण योगदा पुराएका नवल फाइवाली (नरबहादुर योङहााङ)लाई मरणोतपरान्त विशेष सम्मान प्रदान गरिँदैछ । यस्तै, आयोजकले कलकारको सहयोगमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।