झापा । झापामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा झापा गाउँपालिका वडा ५ बस्ने २२ वर्षीय देवेन्द्र चौधरी (समिर) र मेचीनगर नगरपालिका वडा नम्बर १० धुलाबारी बस्ने २४ वर्षीय खातिबुल महमद रहेका छन् ।
बुधबार बिहान ११ः३० बजेको समयमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका वडा नम्बर १ लसुनामा देवेन्द्र चौधरी (समिर) लाई चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।
त्यस्तै बुधबार दिउँसो ४ः४५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित मेची पुलमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले खातिबुल महमदलाई चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।