झापा । मेची राजमार्गको हेवाखोलामा रहेको पुल भत्किएर सडक अवरुद्ध भएपछि सरकारले त्यहाँ तत्कालै बेलिब्रिज राखेर सडक सञ्चालनमा ल्याउने भएको छ ।
शनिबार रातिदेखिको अविरल वर्षा र बाढीले बिहान पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पुल बगाएपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा त्यहाँ बेलिब्रिज पठाउन लागिएको हो ।
उपप्रधानमन्त्री श्रेष्ठको उपस्थितिमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसअघि नै मनसुन पूर्वतयारी एवं प्रतिकार्य कार्ययोजना तयार पारिसकेको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले खोज तथा उद्धारका लागि सम्बन्धित निकायहरूको जिम्मेवारी तथा उपकरणहरूको विवरण तय भइसकेको र सोही कार्ययोजनाअनुसार बेलिब्रिज पठाउन लागिएको बताए ।
हेवाखोलामा सडक विभागको इटहरीस्थित कार्यालयबाट बेलिब्रिज पठाउन लागिएको हो । विभागका महानिर्देशक सुशीलबाबु ढकालले प्राविधिक टोलीसहित आइतबार नै बेलिबिज्र पठाउने तयारी भएको बताए । बाढीले पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध छ ।