इलाम । इलामको रोङ गाउँपालिकाले गुन्द्रुकको ब्राण्डिङ गरी बजार पठाउन सफल भएपछि यसवर्ष सिस्नोको ब्राण्डिङ गर्ने भएको छ । स्थानीय खोला खोल्सामा पाइने सिस्नो बजारमा पुर्याउँदा राम्रो मूल्य पाउने भएपछि गाउँपालिकाले सिस्नोको ब्राण्डिङ गर्न सुरु गरेको हो ।

 

गाउँपालिकाले ६ महिना अघिदेखि सहकारीमार्फत किसानका बारीको साग सङ्कलन र प्रशोधन गरेर ब्रान्डिङ गरेको गुन्द्रुकको प्याकेट तयार गरेको छ । ‘रोङ गुन्द्रुक’ नामले ब्रान्डिङ गरेको गुन्द्रुक अहिले नेपालका चलेका सुपर मार्केट र अमेरिकामा माग उच्च रहेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए ।

 

‘गुन्द्रुकमा सफल भएपछि प्रत्यक्ष किसानको समृद्धिसँग जोडिएको सिस्नोको ब्रान्डिङ गरेर बजारीकरणको तयारी हो’, उनले भने । रोङ गुन्द्रुक ब्राण्डिङ्ग गरिएकै उद्योगमा प्रशोधन गर्न सकिने भएको हुनाले पूर्वाधारको एउटै लगानीमा दुबै वस्तुको प्रशोधन हुनेगरी सिस्नु ब्राण्डिङ् योजना अघि बढाइएको गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवासले जानकारी दिइन् ।

 

कच्चापदार्थको सहज उपलब्धता र उच्च माग सिस्नो ब्राण्डिङ कार्यक्रम सफल हुने अध्यक्ष स्याङबोको दाबी छ । सिस्नोको ब्रान्डिङबारे प्राविधिक अध्ययन सुरू भइसकेको र चाँडै काम थालिने बताइएको छ । गाउँसभामार्फत बजेट नै विनियोजन गरेर सिस्नोको ब्राण्डिङ गर्ने तयारी थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र दाहालले जानकारी दिए ।

आफ्नो कार्यकालको पहिलो वर्षमा गुन्द्रुक उत्पादन गरेर देखाएको गाउँपालिकाले यो वर्ष सिस्नोसँगै ’रोङ मह’ को पनि ब्रान्डिङ गर्दैछ । गाउँघरमा सिस्नो जताततै पाइए पनि बजारमा विक्रीका लागि खासै पुग्दैन । गाउँमा खेर गइरहेको सिस्नो सहकारीमार्फत खरिद गरी गाउँपालिकाले प्रशोधन गरी बजारीकरण गर्ने काम गरिहेको छ ।