झापा । झापाका एक सुनचाँदी व्यवसायी पक्राउ परेका छन् । गौरादहबासीको करोडौं रकम ठगी गरेर भागेका वडा नम्बर १ का सुनचाँदी व्यवसायी सोमराज विश्वकर्मा पक्राउ परेका हुन् ।

 

गत महिना वडाध्यक्ष नगेन्द्र भण्डारीको मेसेन्जरमा आथिक समस्यामा परेको कारण आफू फरार भएको र खोजतलास नगर्नुहोला भन्ने सन्देश पठाएर भागेका विश्वकर्मालाई आज प्रहरीले पक्राउ गरेको हो ।

 

गौरादहका ४६६ जनाको २४ करोड ६५ लाख ३५५ रुपैयाँ हिनामिना गरेर उनी फरार भएका थिए । उनीविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा पीडितहरुले ठगी मुद्धा दर्ता गरिसकेको वडाध्यक्ष भण्डारीले जानकारी दिएका थिए ।

 

विश्वकर्मा पक्राउ परेको आधिकारिक पुष्टि जिल्ला प्रहरी कार्यालय झापाले गरेको छ। प्रहरीका अनुसार उनलाई झापाको काँकरभिट्टा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

 

असार १४ गतेदेखि फरार विकलाई प्रहरीले खोजी गरिरहेको थियो । आज काँकरभिट्टा क्षेत्रमा स्थानीय जनप्रतिनिधि र प्रहरीको विशेष समन्वयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।

 

पक्राउ परेका विकलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रिजालले जनाएका छन् ।