झापा । झापाको मेचीनगर ८ का सुन्दरलाल किसानको हत्या आरोपी दुई दाजुभाइलाई प्रहरीले सार्वजनिक गरेको छ । सुन्दरको हत्यामा नातेदार दाजुभाइलाई प्रहरीले शनिबार सार्वजनिक गरेको हो ।

 

सुन्दरको हत्यामा संलग्न नातेदार मेचीनगर ८ कै ५६ वर्षीय रामजी किसान र उनका भाइ ४८ वर्षीय सुनरसी किसानलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । सामान्य विवादका क्रममा रिसइवीका कारण सुन्दरको हत्यासम्म गरेको उनीहरुले स्वीकारेका छन् ।

 

सोधपुछको क्रममा उनीहरुले गत साउन ३१ गते राति ८ बजे सुन्दरलालले मादक पदार्थ सेवन गरी आफूहरु बसिरहेको कल्भर्टमा आइ गालीगलौज गरेपछि सोही निहुँमा झगडा परेको र घटना गराएको कुरा स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

 

उनीहरुले फलामको रडको खन्ती र सिकल प्रहार गरी शरीरको टाउको, घाँटी, हात तथा अन्य विभिन्न भागमा चोट पुर्याई सुन्दरलालको हत्या गरेको र लाशको व्यवस्थापन गर्ने क्रममा दुवैजनाले मृतकलाई कल्भर्टबाट दक्षिणतर्फ रहेको धानखेतमा घिसार्दै होली पैनीमा लगेर झाडी बुट्यानले छोपी घटनामा प्रयोग गरेको धारिलो हतियार सिकललाई लाश रहेको स्थानदेखि दक्षिणतर्फ पैनीको झाडीमा फ्याँकेको कुरा स्वीकार गरेको डीएसपी रिजालले जानकारी दिए ।

 

घटनापछि दुवै भारततर्फ भागेका थिए । डग स्निफिङ्ग गराउँदा घटनास्थलमा फेला परेको रडको खन्ती सुनरसी किसानको भएको भन्ने खुलेपछि आफन्त नातागोताहरुसंग समन्वय गरी सोधपुछको लागि उनीहरुलाई नेपाल झिकाएर नियन्त्रणमा लिइएको रिजालले बताएका छन् । सुन्दरलालको शव बिहीबार झाडीमा भेटिएको थियो ।