झापा । कोशी पुलमा गाडी छाडेर बेपता भएका डाक्टर प्रज्वल कोइरालाले आत्महत्या प्रयास गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार १-०२-००२ च ४१६६ नम्बरको कार छाडेर उनी बेपत्ता भएका थिए । स्थानीयबासीले बेवारिसे कार देखेपछि प्रहरीलाई खबर गरेका हुन् । डाक्टर कोइराला आइतबार राति २ बजे कोशीको पुलमा आएको सिसी टिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।
पुलको रेलिङमा उनको मोबाइल, जुत्ता र मोजा भेटिएको थियो । सोमबार दिनभरि खोज्दासमेत उनी फेला परेनन् । ‘होटलहरूमा फोटोसहित खोजी गर्दासमेत फेला नपरेपछि सशस्त्रको गोताखोर टोली ल्याएर दिनभर खोजी गरेका थियौ’,
प्रहरी निरीक्षक फुयालले भने, ‘कोशीमा पानीको बहाबव बढेका कारण सबैतिर खोजी गर्न पनि समस्या भयो । गहिरो ठाउँहरूमा गोताखोरको टोलीले प्रयास गरेको थियो । स्थानीय बासिन्दा र हामी मिलेर दिनभरि खोजी ग¥यौं ।
उनी मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत थिए । झापाको दमक नगरपालिका १ मा उनको घर छ । केही महिनाअघि उनी लाइफलाइन अस्पतालमा कार्यरत थिए ।