काँकरभिट्टा । झापाको पूर्वी नाका काँकरभिट्टामा सशस्त्र प्रहरी बलले लागुऔषध र हातहतियार तथा विष्फोटक पदार्थ नियन्त्रण गर्न तालिम प्राप्त कुकुरको प्रयोग गरेको छ । शुक्रबार बिहानदेखि २ वटा कुकुरको प्रयोग गर्न थालिएको हो ।
काँकरभिट्टा नाका विविध हिसाबले संवेदनशील रहेको उल्लेख गर्दै सशस्त्र प्रहरी बलले प्रविधि र मानवीय उपस्थितिसँगै तालिम प्राप्त कुकुरबाट सीमा निगरानी तथा चेकजाँच शुरु गरिएको जनाएको छ।
लागूऔषध र हातहतियार तथा विष्फोटक पदार्थहरू पत्ता लगाउन सक्ने २ वटा ल्याब्रोडर जातका कुकुरहरू यस नाकामा परिचालन गरिएको छ । यसलाई आवश्यकताअनुसार झापा जिल्लाका अन्य नाकामा पनि परिचालन गर्ने योजना रहेको जनाइएको छ।
सीमा नाकामा कुकुरहरू परिचालनसँगै यस क्षेत्रबाट हुनसक्ने लागूऔषध सेवनकर्ता, ओसारपसार एवं हातहतियार तथा विष्फोटक पदार्थ नियन्त्रण अझ प्रभावकारी हुने अपेक्षा सशस्त्र प्रहरी बलले लिएको छ।
सशस्त्र प्रहरी बलका अनुसार प्रयोगमा ल्याइएका जोजो नामक कुकुर लागूऔषध र जुलियट नामक कुकुर हातहतियार तथा विष्फोटक पदार्थका लागि तालिम प्राप्त हुन् ।