झापा । झापामा फेरि जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका २ नम्बर वडा कार्यालयका कर्मचारी रहेका छन् ।

 

प्रहरीका अनुसार २ नम्बर वडा कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत अन्दाजी ५५ वर्षीय पाथल राजवंशीको जंगली हात्तीको आक्रमणमा मृत्यु भएको हो ।

 

राजवंशी बुधबार बिहान घरबाट निस्किएका थिए । घर नफर्किएपछि परिवारका सदस्यले उनको खोजी गरेका थिए । उनको घर नजिकैको नालामा झारले छोपेको अवस्थामा शव फेला परेको वडाध्यक्ष शुकलाल राजवंशीले जानकारी दिए ।

 

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापा, डिभिजन वन कार्यालय झापाको टोलीले घटनाको मुचुल्का उठाएको छ । गत मंसिरमा हल्दिबारी र दमकमा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो।