बिर्तामोड । कठ्यांग्रिने जाडोमा बिर्तामोडको अधुवा खोलाको पुलमुनि बस्दै आएका एक बालकको उद्धार गरिएको छ । झापा अर्जुनधाराका एक बालकको उद्दार गरिएको हो ।

 

अर्जुनधारा ५ स्थित कञ्चनबारी घर बताउने सेवलाल चौधरी र स्व गीता चौधरीका १० वर्षीय छोरा आकाश चौधरीलाई बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीलगायतको टोलीले पुलमुनिबाट उद्धार गरेको हो ।

 

ती बालक विगत दुई महिनादेखि त्यही पुलमुनि र आसपास क्षेत्रमा बस्दै आएका थिए । बेवारिसे अवस्थामा भेटिएका ती सडक बालकको ठेगाना पत्ता लागेपछि अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव गोम्देनलाई खबर गरिएको थियो । नगर प्रमुख गोम्देनको पहलमा नगरपालिकाले परिवारलाई बुझाउनेगरी ती बालकको जिम्मा लिएको छ ।

 

अर्जुनधारा नगरपालिकाका नगर प्रहरी कमाण्डर आइन्द्र तामाङ र नगर प्रहरी श्याम आचार्यले परिवारलाई बुझाउने गरी ती बालकको जिम्मा लिएका हुन् । उद्दारका क्रममा ती बालकलाई न्यानो लुगा प्रदान गरिएको थियो । संरक्षणविहीन अवस्थामा बालकले घर छोडेर बाहिर बस्दै आएको बताइएको छ ।