झापा । इलाका प्रहरी कार्यालय दमकको टोलीले मोरङ उर्लाबारी र दमकका दुई जना युवालाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मंगलबार साँझ ६ बजेको समयमा मोरङ उर्लाबारी नगरपालिका वडा नम्वर ९ घर भई दमक नगरपालिका ९ क्याम्पस मोडमा डेरा गरी बस्ने २४ वर्षीय सुजन दाहाल र दमक ९ कै २६ वर्षीय भिष्म कँडेललाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।
विशेष सूचनाको आधारमा सुजन दाहाल बसेको कोठामा इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले खानतलासी लिँदा ८ ग्राम ब्राउनसुगर फेला परेको थियो । दुवैलाई नियन्त्रणमा लिई इप्रका दमकमा ल्याई आवश्यक अनुसन्धान भक्ष्रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसैगरी, साँझ ६ः१५ बजे मेचीनगर ६ स्थित मेची पुलबाट पानीट्यांकीबाट पैदल आउँदै गरेका कमल गाउँपालिका ५ बस्ने २० वर्षीय मनिस मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
शंका लागेर उनको शरीर तलासी लिँदा दाहिने हातमा झुण्ड्याई ल्याएको प्लाष्टिकको झोलाभित्र १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।