बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ स्थित झिलझिलेमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएका युवाहरुको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा झापा कमल गाउँपालिका ४ बस्ने २० वर्षीय युनिस भण्डारी, सोही स्थानका १७ वर्षीय सरोज रेग्मी र मोटरसाइकल चालक २५ वर्षीय मौसम राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधबार बिहान ५ः३० बजे दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मे ३ प ५००१ नम्बरको १५० सिसिको मोटरसाइकल र बिपरीत दिशाबाट जाँदै गरेको प्र. १-०१-००१ च ९३२९ नम्बरको बोलेरो एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उनीहरूको बाटैमा मृत्यु भएको थियो ।
दुर्घटनामा परेको मोटरसाइकल, बोलेरो र बोलेरो चालक जिल्ला झापा मेचीनगर नगरपालिका ६ बस्ने ४५ वर्षीय ऋषिराज गिरी इप्रका झिलझिलेको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।