मोतीराम तिमल्सिना, नेपाल समाचारपत्र ।
काभ्रे । श्रीमतीलाई पटक–पटक यौन हिंसा गर्ने परपुरुषबाट बचाउँदै न्याय दिलाउन एक श्रीमान् संर्घषरत छन् । न्याय माग गर्दा श्रीमान् श्रीमती दुबै ज्यान मार्ने हदसम्मका धम्की र दबाब सहिरहेका छन् ।

समाजमा यस्ता श्रीमान् पनि छन् जो श्रीमतीलाई परपुरुषले यौनदासी बनाउँदा न्यायका लागि लडिरहेका छन् । भन्छन्, श्रीमतीको खुसीका लागि जे गर्न पनि तयार छु ।

उनकै प्रयासमा पीडक प्रहरी नायव निरीक्षक (सई) रामविनोद राय यादव अहिले जिल्ला प्रहरी कार्यालय काभ्रेको नियन्त्रणमा छन् ।

पीडितका श्रीमानले नेपाल समाचारपत्रलाई जानकारी गराएअनुसार, ‘जतिखेर मेरी श्रीमतीले रुँदै सबै पीडा पोखिन्, मैले सबै रिस र कुण्ठा दबाएर यादवलाई भने, जे भयो भयो अब त्यसो नगर्नुस्, मेरो घर परिवार सबै बिग्रन्छ, श्रीमानले भने, ‘उल्टै धम्की दिदै श्रीमती छाड्न र मलाई फसाउन प्रपन्च रच्यो ।’

श्रीमानले भने, ‘कतिसम्म भने भाटभटेनी सुपरमार्केटमा काम गर्ने एक महिलालाई हुँदै नभएको घटना बनाएर बानेश्वर प्रहरी चौकीमा जबरजस्ती करणीको उजुरी गराए । महिला आफैँले प्रहरीका सई रामविनोद रायले फसाउने नियतका साथ उजुरी गर्न लगाएको बताएपछि उल्टै प्रहरीले हप्काएर पठायो । त्यसको कागज अझै सुरक्षित छ ।’

प्रहरी प्रधान कार्यालय नक्सालमा समेत पटक पटक माफी माग्दै लिखित कागज गरेका सई यादवले पेस्तोल देखाउँदै म र मेरो श्रीमतीलाई अलग गराउने षडयन्त्र गरे । हामी दुबैले त्यो षडयन्त्र पूरा हुन नदिन प्रहरी कार्यालयमा उजुरी दियां ।

प्रहरीले नियन्त्रणमा लिई मुद्दा चलाएपछि हिरासत भित्रैबाट सई यादवले श्रीमान्श्री-मतीबीच झगडा गराउने योजना बनाए । ‘२०७६ जेष्ठ २५ गते शनिबार दिउँसो दुबै जनालाई घरबाट आफन्त भेट्न आएका छन् धुलिखेल आउनु भन्दै बोलाए । धुलिखेलमा यादवका सबै परिवार र आफन्त बोलाएर राखिएको रहेछ ।’

मुद्दा चलुञ्जेल उनीहरु धुलिखेलमै अड्डा जमाएर बसेका छन् । शनिबारको दिन म पनि विदा लिएर धुलिखेल गएको थिएँ । मैले रक्सी पनि खाएकोे थिईन । मलाई उल्टै रक्सी खाएको भन्दै केही लठैत पठाएर कुटपिट गरे ।

‘हामीलाई यादवको मुद्दा फिर्ता लिएर मिल्न दबाब दिएका छन् । जेलबाट २० लाख तिरेर निस्केपछि तिमीहरु दुबैलाई मारिदिन्छु भन्ने धम्की पनि आइरहेको छ’, श्रीमानले भने ।

श्रीमानले जानकारी दिए, सई यादव इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत छन् । रौतहट गौर घर भएका यादवका चारवटा छोरी र एक छोरा छन् । छोरा एमवीवीएस पढ्दै छन् । ‘तीन छोरीको विवाह गरी नाति नातिना भइसकेका यादवले मेरी श्रीमतीलाई पटक–पटक मानसिक, शारीरिक यातना दिएको कुरा प्रहरीकोमा पहिल्यै उजुरी गरिसकेका थियौं ।’

‘श्रीमतीले कि मर्नु र कि श्रीमानलाई भन्नु बाहेक अर्को उपाय नदेखेपछि म सँग भनिन’, उनले भने, ‘मर्दापर्दा साथ दिने हामी दुईमात्रै भएकाले हामीले प्रहरीकोमा उजुरी गर्ने निर्णय गरेका हौं । म उनलाई जस्तो अवस्थामा पनि साथ दिन्छु उनले पनि त्यहि कसम खाएकी छिन्’, उनले भने ।

श्रीमानले आँखाभरि आँसु पारेर भने, ‘म टुहुरो हुँ, नेपाली सेनाको सिपाही पदमा कार्यरत छु । अफिसकै सहयोगले अन्यायविरुद्ध लड्न सक्ने क्षमता बढेको छ ।’

रामविनोद राय यादवविरुद्ध नक्सालमा भएको जबरजस्ती करणीको अभियोगमा दिएको उजुरी जिल्ला प्रहरी कार्यालय काभ्रेमा चलिरहेको छ ।

पीडित महिलाको भनाइ
१७ वर्षको उमेरमा रामविनोद राय यादवले मलाई घरमै आएको बखत फकाई फकाई एप्पल जुसमा निन्द्रा लाग्ने औषधि राखेर लजमा पु¥याई जबरजस्ती यौनसम्पर्क राख्यो । त्यसको भिडियो खिचेर फिल्म बनायो । पटक पटक त्यहि देखाएर यौन हिंसा गरिरह्यो ।

म स्थानीय विद्यालयमा पढ्दैै थिएँ, विवाहको कुरा चल्यो । जनकपुरमा भाइ र म गएर केटा भेट्यौ । विवाहका लागि हामी तयार भयौं तर त्यहि सई यादवले भाँड्न खोज्यो । धम्क्यायो । विवाह गर्न नदिने षडयन्त्र रच्यो । तर ऊ सफल भएन र विवाहपछि पनि हामीलाई अलग गराउन पटक पटक जबरजस्ती ग¥यो ।

शैक्षिक प्रमाणपत्र र नागरिकता समेत कब्जामा लिएको छ, मुद्दा फिर्ता नलिंदासम्म नदिने बताएको छ । श्रीमानलाई त्यागे जनकपुरमा तीन तल्ले घर किनेर पार्लर समेत राखिदिन्छु भनेको थियो, म बरु मर्न तयार छु, श्रीमानलाई छाड्दिनँ भनेपछि उसले श्रीमान् र मलाई अनेक ढंगबाट फसाउने प्रपन्च ग¥यो । विवाहपछि कोठाबाटै उठाएर दुई रात, तीन दिन बेहोस बनाएर जबरजस्ती ग¥यो, मलाई सडकमा छाडेर प्लेन चढेर जनकपुर पुगेर फोटो फेसबुकमा पोस्ट गरेर साँचिलो बन्यो, यता मेरो श्रीमान् मलाई खोजेको खोज्यै हुनु भयो । सबै कुरा भनेपछि प्रहरीकोमा उजुरी दिन पुग्यौं ।

अर्को पटक रक्षा बन्धनको दिनमा कोठामै आई कञ्चटमा पेस्तोल राखेर जबरजस्ती गरेर भाग्यो । यस्ता थुप्रै हर्कतहरु सहें तर श्रीमान् छाड्न सकिनँ । श्रीमानले पनि मलाई छाड्ने कुरा कहिल्यै गर्नु भएन । अहिले पनि सबै कुरा सविस्तार पत्रकारलाई भन, म साथ दिन्छु भन्नुभएको छ ।

६ दिदी बहिनीमध्ये ५ जना छौं । दुईवटा भाइ छन् । माईली दिदीको सई रामविनोद राय यादवको कान्छो भाई अमोद यादवसँग गौरमा विवाह भएको थियो । ७/८ वर्षअघि घरभित्रै जलाएर उसैले मा¥यो । पेटमा बच्चा थियो । दाइजो नल्याएको निहुँमा उसैले घरभित्रै आगो लगाएर जलायो । उपचार गर्न ल्याउने भन्दै काठमाडौको पशुपतिमा जलायो । कसैलाई उजुरी गर्न दिएन ।

पुनः दबाबमा मेरो साईली दिदीको उसैसँग विवाह गरिदियो । नाताले भिनाजु पर्ने सई यादवले मलाई पनि त्यसै गर्छु भनेर धम्क्याउँछ । तेरो दिदी मारेको कसैले केही गर्न सकेन, तँ र तेरो लोग्ने दुबैलाई मारिदिन्छु भन्छ ।

मुद्दामा मिलापत्र गर्न मलाई दबाब दिएको छ । शिर कट्छ मेरो म मिल्न सक्दिनँ । मेरो आँशु जति बगेको छ, त्यसलाई कारवाही हुनुपर्छ । श्रीमानले अदालतमा पनि नढाँट्नु भन्नुभएको छ ।

बाईक चोरीमा समेत श्रीमानलाई फसाउन खोज्यो । तर सकेन । प्रहरी सुुरेन्द्र ठाकुरलाई सई यादवले यस्तै काममा प्रयोग गर्ने गरेको छ । बाबु आमा नभएकाले मामाहरुको सहारामा बस्दासमेत उसले मुख नै देखाउन नहुने गरी बदनाम गरायो । महिला भएर बाँच्न कठिन छ । तर, श्रीमान् बुझ्ने हुँदा मलाई समस्या छैन । समस्या त्यही छ, यसको दबाब र अन्याय कति सहनु ?

तर, प्रहरीले पनि साथ दिनुभएको छ । उहाँहरुकै सहयोगले न्याय पाउँछु कि भन्ने आस जागेको छ ।