झापा । मेलमिलाप समितिको दबाब सहन नसकेर भद्रपुरमा एक व्यक्तिले आत्महत्या गरेका छन्। भद्रपुर नगरपालिका ८ नम्बर वडा कार्यालयमा गठित मेलमिलाप समितिका पदाधिकारीहरूले गर्भवती महिला जिम्मा लगाउन खोज्दा एक बृद्धले आत्महत्या गरेका हुन् ।

 

घटना क्रमअनुसार अविवाहित तथा मानसिक सन्तुलन ठीक नभएकी एक गर्भवतीलाई जबरजस्ती जिम्मा लगाउन खोज्दा भद्रपुर ८ स्थित भद्रशिव मन्दिरनजिकै बसोबास गर्ने ६८ वर्षीय गेल राजवंशीले सोमबार दिउँसो झुन्डिएर आत्महत्या गरेका हुन्।

 

मेलमिलाप समितिका पदाधिकारीहरूले सिधासाधा तथा निर्दोष व्यक्तिलाई जबरजस्ती करणी (बलात्कार) आरोपमा फसाउन खोज्दा सहन नसकेर बुबाले आत्महत्या गर्नु परेको छोरा पर्वलाल राजवंशीले आरोप लगाएका छन्।

 

बुबालाई आत्महत्या गर्न बाध्य बनाउने मेलमिलाप समितिका पदाधिकारीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय झापा आत्महत्या दुरुत्साहनमा जाहेरी दिने उनले बताए। असार ४ गते वडा कार्यालयको मेलमिलाप समितिमा उनको नाममा ३२ वर्षीया महिलालाई गर्भवती बनाएको उजुरी परेको थियो।

 

मृतक राजवंशी अरूको जमिनमा खेतीपाती र जनमजदुरी गरी परिवार पाल्दै आएका थिए। गाउँकै सिधा सोझा व्यक्तिमा उनी पर्थे। ‘उजुरी परेपछि मेलमिलाप समितिका सुरज रेग्मीलगायतले बुबालाई चर्को दबाब दिएर घटना गराएको भनी स्वीकार गर्न लगाएका थिए,’ छोरा पर्वलालले भने, ‘बुबाले आफूले यस्तो काम नगरेको पटक पटक भन्दा पनि उनीहरूले त्यसलाई मान्न तयार भएनन्, उनीहरूले छुट्टै कोठामा राखेर मानसिक दबाब दिइराखे।’

 

परिवार तथा छरछिमेकले समेत उहाँले यस्तो हर्कत गर्न सक्नु हुन्न भन्दा पनि मेलमिलाप समितिले त्यसलाई मान्न चाहेनन्। त्यो दिनको दबाबपूर्ण छलफलपश्चात् समितिले आइतबार फेरि छलफल बोलायो।

 

आइतबारको छलफलमा पनि उनीहरूले एकलौटी ढङ्गबाट राजवंशीलाई दबाब दिइराखे। समितिका मानिसहरूले अन्ततः सोमबार दिउँसो ३ बजेभित्र महिलालाई जिम्मा लिनु, नत्र प्रहरी कार्यालयमा बलात्कार मुद्दा लगाएर जेल हालिदिने धम्की नै दिएको मृतकका ज्वाइँ शेखरकुमार राजवंशी बताउँछन् । ससुराबाबुले त्यसलाई सहन नसकेको उनले बताए ।

 

३ बजे महिलालाई जिम्मा लगाउने समय तोकिएको थियो। ससुराबाबुले साढे १२ बजेतिर नै संसार छाडेर जानुभएछ ।’ उनले यो आत्महत्या नभएर हत्या गराएको आरोप लगाए । ‘समितिका पदाधिकारीहरूलाई कानुन बमोजिम कारबाही हुनुपर्छ ’ उनले भने ।

 

घटनापश्चात् वडा प्रहरी कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली पुग्दा मृतकका परिवारजनले शवलाई उठाउन दिएनन् । उनीहरूले मेलमिलाप समितिका पदाधिकारीहरूलाई पक्राउ गर्नुपर्ने माग राख्दै अवरोध पुर्याएका थिए। त्यसपछि उनीहरूले प्रहरी कार्यालय झापा पुगेर एसपी मिलन केसीलाई भेट्टाएका थिए।

 

एसपी केसीको आश्वासनपश्चात् उनीहरूले शवलाई कानुनी प्रक्रियामा लैजान दिएका थिए। शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको प्रहरीले जनाएको छ। त्यहाँ शवको डिएनए समेत परीक्षण गरिने जनाइएको छ।