बिर्तामोड । झापाको हल्दिबारीमा पिकअप भ्यान गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना स्थानीय र अर्का व्यक्ति सुनसरीका रहेका छन् ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका ५ का अन्दाजी ३१ वर्षीय प्रेम प्रसाईँ र सुनसरी वराहक्षेत्र १० प्रकाशपुर बस्ने २१ वर्षीय विकेश कार्की रहेका छन् । कार्की मृतक प्रेम प्रसाईँका साला धनबहादुर कार्कीका छोरा हुन् ।

 

हल्दिबारी ५ सोडागान्धी चोकस्थित हुलाकी राजमार्गमा बिहीबार साँझ ७ः१५ बजे राजगढबाट जलथलतर्फ जाँदै गरेको गरेको मे १ ज ३२६१ नम्बरको पिकअप गाडीले राजगढतर्फ जाँदै गरेको मे ९ प ९६८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको थियो ।

 

दुवै घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा राति ८ बजे चिकित्सकले मृत घोषित गरेका थिए । पिकअप र पिकअप चालक भद्रपुर २ बस्ने ३७ वर्षीय दिपेन राईलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ ।