खुदुनाबारी । झापाको अर्जुनधारा २ रातेमा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहले उपभोक्तालाई लक्षित गर्दै वितरण गर्दै आइरहेको ‘एक घर, एक सिलिण्डर’ कार्यक्रमलाई निरन्तरता दिएको छ ।

 

अघिल्लो कार्यसमितिले विगत छ वर्षदेखि सञ्चालन गरेको उपभोक्तालाई ग्याससहितको सिलिण्डर बाँड्ने कार्यक्रमलाई अभियानकै रुपमा लिएर नयाँ कार्यसमितिले निरन्तरता दिएको समूहका अध्यक्ष खगेन्द्र कोइरालाले बताए ।

 

तत्कालिन समूहका अध्यक्ष तुलसीप्रसाद खतिवडाको पहिलो कार्यकालमा ३६ जना अति विपन्न उपभोक्तालाई निःशुल्क ग्याससहितको सिलिण्डर वितरण गर्दै शुरु भएको उक्त अभियान प्रभावकारी भएपछि वर्तमान समितिले निरन्तरता दिँदै सोमबार थप १०० जना उपभोक्तालाई ग्याससहितको सिलिण्डर वितरण गरेको छ ।

 

दाउरा संकलन गर्ने क्रममा वन विनाससँगै सम्भावित चोरीतस्करी नियन्त्रण तथा वन क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान अन्र्तगत हालसम्म ७१३ जना उपभोक्ता प्रत्यक्ष लाभान्वित भएको समूहका अध्यक्ष कोइरालाले जानकारी दिए ।

 

ग्याससहितको सिलिण्डर वितरण कार्यक्रम वातावरण, स्वास्थ्य, वनमैत्री भएकाले पनि उपभोक्ताहरुको भान्सा घरलाई धुँवामुक्त बनाउन निरन्तरता दिइएको समूहका सचिव नरेन्द्रप्रसाद गौतमले जानकारी दिए ।

 

उनका अनुसार समूहको उपभोक्ता संख्या ८६३ जनामध्ये बाँकी १५० जनालाई पनि चालु आर्थिक वर्ष ०८१/०८२ मा ग्याससहितको सिलिण्डर वितरण गर्ने तयारी रहेको छ । यसैबीच समूहले सोमबार एक कार्यक्रमका बीच १०० जना उपभोक्तालाई ग्याससहितको सिलिण्डर वितरण गरेकाे हाे ।

 

सकारात्मक उद्देश्यले आफ्नो कार्यकालमा शुरु भएको कार्यक्रमलाई नव निर्वाचित कार्यसमितिले निरन्तरता दिएकोमा समूहका निवर्तमान अध्यक्ष खतिवडाले खुशी व्यक्त गरे । दुई कार्यकाल समूहका अध्यक्ष रहेका खतिवडाले समूहले आगामी दिनमा पनि यस किसिमको कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

 

समूहका अध्यक्ष कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा २ का वडाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठले उपभोक्ता मणिलाल मगरलाई ग्याससहितको सिलिण्डर हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।

 

कार्यक्रममा वडा सदस्य प्रेमबहादुर उपरकोटी, नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाका अध्यक्ष मुकुन्द भण्डारी, समूहका निवर्तमान अध्यक्ष खतिवडालगायतले मन्तव्य राखेका थिए । समूहकी उपाध्यक्ष लक्ष्मी कन्दङवा लिम्बूले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव गौतमले गरेका थिए ।