झापा । डेढ वर्षदेखि ओमनको अस्पतालमा अचेत रहेकी झापा मेचीनगरकी बिनादेवी कँवरलाई नेपाल ल्याइदिन उनका छोराले अपिल गरेका छन् ।
परिवारको आर्थिक अवस्था कमजोर रहेकाले बिरामी अवस्थामा रहेकी आफ्नी आमालाई नेपालसम्म ल्याउनका लागि आर्थिक सहयोग गरिदिन छोरा सञ्जय कँवरले पत्रकारहरूमार्फत अपिल गरेका हुन् । प्रेस क्लब मेचीनगरको हलमा सञ्जयले आर्थिक र समन्वयात्मक सहयोग गरेर आमालाई नेपालसम्म ल्याइदिन आग्रह गरे । बिनादेवीे मेचीनगर १० स्थित कँवर बस्तीका चिनीलाल कँवरकी श्रीमती हुन् ।
बिनादेवीका श्रीमान् चिनीलाल धुलाबारीमा सामान्य ज्यालादारी काम गर्छन् । जेठा छोरा सञ्जय मेचीनगर ७ स्थित राज टी इस्टेटमा मजदुरी गर्छन् । कान्छा छोरा सुरज काठमाडौँमा मूर्ति बनाउने काम गर्छन् भने छोरी अनिता कँवरको विवाह भइसकेको छ ।
४५ वर्षीया बिनादेवी परिवारको आर्थिक अवस्था सुधार्न २०७५ सालमा वैदेशिक रोजगारीका लागि ओमन गएकी थिइन् । २०७५ पुषतिर कुवेत उडेकी बिनादेवी १४ महिनापछि फर्किएकी थिइन् । भनिएजस्तो काम नभएर कुवेतबाट फर्किएको महिना दिन नबित्दै उनी पुनः खाडी मुलुक ओमन उडेकी थिइन् ।
‘लडेको दिनदेखि आमाको अहिलेसम्म होस आएको छैन’, सञ्जयले सुनाए, ‘आमा कुन अस्पतालमा कुन हालतमा हुनुहुन्छ, थाहा छैन ।’ उनले ओमनबाट आमालाई नेपाल ल्याउन पाए यतै हुने जति उपचार गर्ने बताए । बिनादेवीलाई घर ल्याउन १४ लाख बढी खर्च लाग्ने भएपछि सञ्जयले आर्थिक सहयोग जुटाइदिन आग्रह गरेका छन्