बिर्तामोड । झापामा स्कुटरको भाइजरमा ब्राउनसुगर भित्र्याउने दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमल गाउँपालिका ७ का २५ वर्षीय सन्देश लिम्बू र ३६ वर्षीय पूर्णबहादुर लिम्बू रहेका छन् ।

 

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरूलाई झापा गाउँपालिका १ लसुना सीमाबाट पक्राउ परेका हुन् ।

 

मंगलबार बेलुकी ७ः५० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको मे ५ प ७८४० नम्बरको स्कुटरलाई शंका लागेर खानतलासी गर्ने क्रममा स्कुटरको भाइजरमा लुकाएर ल्याएको अवस्थामा ९.७९० ग्राम ब्राउनसुगर फेला परेको थियाे ।

 

सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाका डीएसपी सुमन पोख्रेलका अनुसार उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइसकिएकाे छ ।