काठमाडौं । जारी एन्फा महिला लिगमा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ । बुधबारको दोस्रो खेलमा सुदूरपश्चिम कर्णाली प्रदेशसॅंग ३-० गोल अन्तरले पराजित भयो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा कर्णालीलाई जित दिलाउन भुमिका बुढाथोकी, वर्षा ओली र गरिमा राईले गोल गरे । यो सँगै सुदूरपश्चिम प्रदेशले लगातार छैटौं हार बेहोरेको छ ।
कर्णाली लिगमा पहिलो जित निकाल्दै ६ खेलबाट ४ अंक जोडेको छ । सुदूरपश्चिमले भने समान खेल खेल्दै अंकको खाता खोल्न सकेको छैन ।
आजै भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई चन्द्रपुर नगरपालिकाले गोलरहित बराबरीमा रोकेको थियो । लगातार दोस्रो बराबरीसँगै पुलिस ६ खेलबाट १२ अंकका साथ लिगको तेस्रो स्थानमा छ ।
पुलिसले चन्द्रपुरलाई हराउँदै दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । दोस्रो स्थानमा रहेको आर्मी समान खेल खेलेर १३ अंकमा रहेको छ । चन्द्रपुर ६ खेलमा ७ अंकका साथ छैटौं स्थानमा छ ।