शनिश्चरे । झापाको अर्जुनधारा ११ मा रहेको मिलडाँडा युवा परिवारको आयोजनामा प्रथम मिलडाँडा खुला भेट्रान्स नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता आगामी असोज १७ गतेदेखि २४ गतेसम्म स्थानीय प्रगति टोलस्थित देउनिया खेलमैदानमा सञ्चालन हुनेछ।
खेलकुद क्षेत्रमा सक्रिय भेट्रान्स खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक नन्दलाल खतिवडाले बताए ।
आज पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिइएको हो । प्रतियोगितामा झापा र पाँचथरका ८ टोलीको सहभागिता रहने छ । जसमा आयोजकसँगै मेचीनगर, भद्रपुर, पृथ्वीनगर, बिर्तामोड, झिलझिले, चारपाने र पाँचथरको बौद्ध भेट्रान्स क्लबले सहभागिता जनाउने छ ।
आयोजक टोलीका कप्तान टेकराज तिलिङका अनुसार प्रवेश कटुवाल, विशाल राई, सन्तोष बस्नेत, अंकुर खड्गीलगायत भरपर्दा खेलाडी आयोजक टोलीमा रहने छन् ।
प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार १११ र उपविजेताले नगद ३१ हजार १११ नगदसहित ट्रफी पाउने आयोजक समितिका कोषाध्यक्ष किरण जवेगुले बताए । च्याम्पियन पुरस्कार फुटबलप्रेमी एन पेनाङ एफसीका नेत्रनारायण श्रेष्ठले प्रायाेजन गरेका हुन् ।
उनका अनुसार प्रत्येक खेलको प्लेयर अफ दी म्याचले नगद २ हजार ट्रफी पाउँदा विधागत पुरस्कारतर्फ नगद ३ हजार ५ सय र सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजारसहित ट्रफी पाउने छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ७ लाख ९० हजार २२२ रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ। प्रतियोगिताले स्थानीय तथा बाह्य खेलाडीबीच सम्बन्ध र सहकार्य विस्तार गर्नुका साथै अर्जुनधारा नगरपालिकामा खेलकुद गतिविधिको विकास र विस्तारमा योगदान पुग्ने विश्वास लिइएको छ।
समितिका सचिव केशवराज अधिकारीले सञ्चालन गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख बलदेवसिंह गोम्देन, वडाध्यक्ष खगेन्द्र इङनामलगायतले आफ्ना धारणा राखेका थिए ।