फुङ्लिङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा ९३ लाख ७२ हजार २५० रुपैयाँ खर्च भएको छ । आयोजकले शनिबार तोक्मेडाँडामा पत्रकार सम्मेलनमार्फत आयव्यय विवरण सार्वजनिक गरेको हो ।
प्रतियोगिता सम्पन्न भएको १५ दिनमै आयोजक लाखेजात्रा सञ्चालन समितिले आयव्यय विवरण सार्वजनिक गरेको हो । सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार प्रतियोगिताबाट हालसम्म ६५ लाख ८८ हजार ५९९ रुपैयाँ समितिको खातामा प्राप्त भएको छ ।
बोलकबोल तथा सम्झौता भएका ३५ लाख पाँच हजार रुपैयाँ भने प्राप्त हुन बाँकी रहेको छ । उक्त रकम प्राप्त भएपछि प्रतियोगितामा खर्च भएको रकम तिरेर समितिको खातामा सात लाख २१ हजार ३४९ रुपैयाँ बचत हुने समितिले जनाएको छ ।
प्रतियोगिताका लागि प्याकेज टिकट तथा प्रवेशद्वारबाट ५२ लाख ९६ हजार ९४८ रुपैयाँ आम्दानी भएको छ । फाइनल खेलबाट मात्र २० लाख २७ हजार रुपैयाँको टिकट बिक्री भएको थियो ।