झापा । बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाई पक्राउ परेपछि आन्दोलित बनेका उनका समर्थकहरुले झापामा दुईवटा भारतीय ट्रकमा आगजनी गरी क्षति पुर्याएका छन् ।

 

राति ११ः१० बजे कन्काई ८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको युपी ५७ एटी ४४९३ नम्बरको भारतीय मालबाहक ट्रकमा प्रसाईका समर्थकहरुले आगजनी गरेको प्रहरीले जनाएको छ ।

 

प्लाइ बनाउन प्रयोग हुने कच्चा पदार्थ बोकेको ट्रकमा ६ वटा मोटरसाइकलमा आएका १०/१२ जनाले ट्रकमा आगजनी गरी फरार भएका थिए । बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा बिर्तामोड र सुरुङ्गाको प्रहरी टोलीले राति ११ः५५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिएको थियो ।

 

ट्रकमा भएको आगजनीबाट सोही ट्रकका चालक भारत सिलिगुडीका ४० वर्षीय कुमार महतो दाहिना हातको पाखुरामा जलेर घाइते भएका छन् । उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

 

त्यस्तै प्रसाईका समर्थकहरुले बिहान २ः४५ बजे बिर्तामोड ६ गिरीबन्धु टी इस्टेट नजिक डब्ल्यू बी ७३ इ ३०५६ नम्बरको अर्को भारतीय ट्रकमा आगजनी गरेका छन् । सुनसरीको दुहबीबाट काँकडभिट्टातर्फ जाँदै गरेको खाली ट्रकलाई ५–६ जनाको समूहले आगजनी गरेका हुन् ।

 

ट्रकमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । आगलागीबाट ट्रकको अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

 

आगलागीबाट ट्रकका चालक भारत इस्लामपुरका ४० वर्षीय पोदा रायको दाहिने हातको पाखुरा र ढाड जलेर घाइते भएकोमा उनलाई बीएण्डसी अस्पतालमा लगेर उपचार गरिएको थियो । चालक राय भारतमै उपचार गर्ने भन्दै भारततर्फ गएको बिर्तामोड प्रहरीका डीएसपी प्रकाश विष्टले बताए ।

 

हिजो प्रहरीले झापामा दुईजना समर्थकलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राई रहेका छन् ।