फिदिम । यहाँ जारी ११औँ फाल्गुनन्द गोल्डकपको तेस्रो क्वाटर फाइनल खेलमा आज ए डिभिजन लिग विजेता चर्च व्वाइज युनाइटेडले नेपाल सुपर लिग (एनएसएल) खेल्ने विराटनगर सिटी एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।

 

दुई दिन अघिमात्र झापा कपको उपाधि जितेको चर्च व्वाइज उपाधि दाबेदार मानिएको छ । झापामा न्यू रोड टिम (एनआरटी)लाई हराउँदै चर्च व्वाइजले उपाधि जितेको थियो । चर्च ब्वाइज मंसिरमा इलाम गोल्डकपमा एनआरटीसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

 

गतसाल सुपर लिग नखेलेको विराटनगरले कार्तिक महिनामा धनकुटाको पाख्रिबास गोल्डकपको उपाधि जितेको थियो । मंसिरमा बन्दिपुर गोल्डकपको उपाधि जितेको विराटनगर उपाधि जित्ने लक्ष्यसहित फिदिम आएको टिम व्यवस्थापक राज थापाले जानकारी दिए ।

 

फिदिम स्पाेर्टिङ क्लबले आयाेजना गरेकाे गाेल्डकपकाे विजेताले नगद १० लाख ५ हजार ५५५ र उपविजेता टाेलीले नगद ५ लाख  ५ हजार ५५५ सहित आकर्षक ट्रफी पाउने छ ।