फिदिम । न्यू रोड टिम (एनआरटी) यहाँ जारी ११औँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिरहाको सलहेश युवा क्लबलाई टाइब्रेकरमा पराजित गर्दै एनआरटीले अन्तिम चारमा स्थान बनाएको हो ।

 

निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि छिनोफानो टाइब्रेकरबाट लिइएको हो । एनआरटी ५-४ गोलअन्तरबाट सेमिफाइनल प्रवेश गरेको हो ।

 

सलहेशका हेनरीको प्रहार प्रमिजय गच्छदारले रोकेका थिए भने अन्तिम प्रहारमा एनआरटीका अन्जन विष्टको प्रहार गोलमा परिणत भएको थियो । जितसँगै एनआरटीले चिरपरिचित प्रतिद्वन्द्वी मच्छिन्द्रसँग भेट पक्का गरेको छ ।

 

आज भएको अन्तिम क्वाटर फाइनल खेलको प्लेयर अफ दी म्याच एनआरटीका अभिषेक लिम्बू भए । उनले नगद १० हजार प्राप्त गरेका छन् ।

 

भोलि पहिलो सेमिफाइनल खेल चर्च ब्वाइज युनाइटेडले आयोजक फिदिम स्पोर्टिङ क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । यस गोल्डकपको विजेताले नगद १० लाखसहित आकर्षक ट्रफी पाउने छ ।