झापा । झापाको भद्रपुरस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक पर्यटकीयस्थल किचकवध परिसरमा वृहत् सरसफाई गरिएको छ ।

 

सिमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल, नम्बर २ गण हेडक्वाटर झापाले आइतबार बिहान किचकवध परिसरमा वृहत् सरसफाई गर्दै सरसफाई सामग्री वितरण गरेको हो ।

 

सरसफाई कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, कर्मचारी, भद्रपुर नगर प्रहरी, सगरमाथा युवा क्लब तथा स्थानीयबासीको सहभागिता रहेको थियो । सशस्त्र प्रहरीले गर्दै आइरहेका सामाजिक कार्यहरूको चर्चा गर्दै नम्बर २ गण हेडक्वाटर झापाका एसपी कविन्द्र राईले सिमाबासी जनताको हितमा धार्मिक स्थलहरूको संरक्षण, सीमा सुरक्षामा नागरिक सहकार्यको महत्व र आपराधिक गतिविधि नियन्त्रणमा स्थानीय समुदायको भूमिका आवश्यक रहेको बताए ।

 

एसपी राईले किचकबधका लागि पाँच वटा डस्टविनसहित सरसफाई सामग्री स्थानीय वडाध्यक्षहरूलाई हस्तान्तरण गरेका थिए । सोही कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले आफ्ना भनाइ राखेका थिए ।

 

महाभारतकालीन किंवदन्तीसँग जोडिएको किचकबधमा हरेक वर्ष माघे शुक्ल पूर्णिमा÷स्वस्थानी व्रतका दिन मेला लाग्दै आएको छ । महाभारतकालीन किंवदन्ती अनुसार विराट राजाका साला किचक सेनापति थिए । पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूपमाथि कुदृष्टि राख्ने सेनापति किचकलाई भीमसेनले मुड्क्याएर मारेको किंवदन्ती छ ।

 

यसैबीच सशस्त्र प्रहरीले सीमामा आउजाउ गर्ने स्थानीयलाई खानेपानीको सुविधा उपलब्ध गराउने उद्देश्यले कचनकवल गाउँपालिका ४ मा ट्युबवेल निर्माण गरिदिएको छ । सो ट्युबवेलको आइतबार एक कार्यक्रमका बीच कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद राजवंशी र सशस्त्र प्रहरीका एसपी कवीन्द्र राईले संयुक्त रूपमा उद्घाटन गरे ।