शनिश्चरे । झापाको अर्जुनधारामा जारी आधारभूत विद्यालयस्तरीय फुटबल प्रतियोगिताको शनिबारको खेलबाट जनता, भानु र सिंहदेवी मावि सेमिफाइनलमा प्रवेश गरेका छन् ।

 

अर्जुनधारा ११ स्थित महारानीगञ्ज माविको खेलमैदानमा भएको दोस्रो क्वाटरफाइनल खेलमा जनता माविले लक्ष्मी माविलाई २-० गोलले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो ।

 

यसैगरी, भानु माविले गणेश आधारभूत विद्यालयलाई ४-० गोलको फराकिलो नतिजाबाट पन्छाउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । अन्तिम क्वाटरफाइनल खेलमा सिंहदेवी माविले कालिस्थान माविलाई २-१ गोलले पराजित गर्दा सेमी समिकरण पूरा भएको छ ।

 

नगरभित्र रहेका १० वटा माविका कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीबीच फुटबल प्रतियोगिता आयोजना गरिएको हो । विद्यार्थीहरुलाई फुटबल खेलप्रति हौसला प्रदान गर्दै खेलाडी उत्पादन गर्ने उद्देश्यले महारानीगञ्ज माविको बाल क्लबको आयोजनामा समाजसेवी भक्तबहादुर डाँगीले स्व। बुवा कृष्णप्रसाद डाँगीको स्मृतिमा फुटबल खेल सञ्चालन गरेका हुन् ।

 

माघ २५ गते हुने फाइनल खेलको विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार पाउने छन् । यसैगरी विभिन्न विधामा पनि पुरस्कारको व्यवस्था गरिएको विद्यालयका शिक्षक प्रदिपकुमार बस्नेतले जानकारी दिए । प्रतियोगिता विद्यालयको ६७औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो ।