दूधे (झापा) । प्रतिक्षित झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । दोस्रो संस्करणको महिला गोल्डकप भोलि मंसिर ५ गतेदेखि सुरु हुने भएको छ ।

 

मंसिर १२ गतेसम्म शिवसताक्षीस्थित दुधे रंगशालामा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूूरा भइसकेको आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए । पहिलो संस्करण ऐतिहासिकरूपमा सम्पन्न भएको उल्लेख गर्दै उनले यसपटक प्रतियोगितालाई अझ उत्कृष्ट र भव्य बनाइएको बताए ।

 

प्रतियोगिताका लागि दुधे रंगशालामा १२ हजार दर्शक क्षमताको आल्मुनियम र बाँसको प्यारापिट जडान गरिएको छ । प्रतियोगिताको विजेता टोलीले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

 

उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

प्रतियोगितालाई सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको बताउँदै अध्यक्ष थोप्राले प्रत्येक टिकट बिक्रीबाट प्राप्त हुने १० रुपैयाँ दृष्टिविहीन तथा अटिजम भएका बालबालिकाको हितमा खर्च गरिने बताए । फरक क्षमता भएका व्यक्ति र १० वर्षमुनिका बालबालिकालाई प्रतियोगिता अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

 

प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा नेपाल, भारत र भुटानका आठ टोलीको सहभागिता रहनेछ । उद्घाटन खेलमा आयोजक झापा ११ र आरएस पोखराले प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रतियोगितामा नेपालका तीन विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबका साथै आयोजक झापा ११, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, भुटानको थिम्पु राभेन वुमन एफसी र भारतको एभिएफसी सहभागी छन् ।

 

प्रतियोगिताको तयारीबारे शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाम्फे र नगर प्रमुख मेगाहाङ थोप्राले पनि धारणा राखेका छन् । प्रतियोगिताले महिला फुटबलको विकाससँगै शिवसताक्षी क्षेत्रको खेल पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।