मोरङ । मोरङको विराट चोकमा आयोजित प्रदेशस्तरीय बुद्धिचाल खेलमा चौथो चरणका खेल सम्पन्न भएका छन्। क्लासिकल विधाअन्तर्गत प्रतिस्पर्धामा पथरीका निलम बस्नेत, पाँचथरका रिशोन थापा र धरानका राजेन्द्र राई पूर्ण ४ अंक जोडेर अग्रस्थानमा छन्।

 

शतप्रतिशत जित निकाल्ने क्रममा निलमले इटहरीका नवीन घिमिरे, मोरङका विष्णुलाल लिम्बू, इटहरीका उमेश राई र सुन्दरहरैँचाका हिमालचन्द्र लिम्बूलाई पराजित गरे । यस्तै, रिशोन थापाले सुन्दरहरैँचाका विशाल बोहोरा, दमकका कृश अधिकारी, धरानका ललितबहादुर राई र धरानकै हिमाल राईलाई पञ्छाउन सफल बने ।

 

यसैगरी, राजेन्द्र राईले बेलबारीका सनमकुमार चौधरी, फिदिमका दिनेश भट्टराई, विराट चोकका विक्रमजित लिम्बू र धरानका खिलराज राईमाथि जीत दर्ता गरेका हुन्। कोशी प्रदेशका ९३ जना राष्ट्रिय खेलाडी सहभागी रहेको प्रतिस्पर्धामा तीन जना खेलाडीले समान ३ दशमलब ५ अंक जोडेर सामूहिक दोस्रो स्थान ओगट्न सफल बनेका छन्।

 

६० मिनेट ३० सेकेण्ड इन्क्रिज्मेण्ट समय रहेको खेलमा ३ जीत र १ बराबरी खेलेर धरानका बिष्णु लिम्बू, मेचीनगरका विश्वविजय घिमिरे र विराटनगरका उमेश राई अपराजित रहदै शीर्ष ३ खेलाडीलाई चुनौती दिइरहेका छन् ।

 

दमककी राष्ट्रिय महिला खेलाडी कृतिसारा अधिकारीसहित जम्मा २० जना खेलाडीले समान ३ अंक जोडेर संयुक्त तेस्रो स्थानमा उभिन सफल भएका छन्। तेस्रो चरणमा उमेश राईसित अप्रत्याशित हार व्यहोरेका दमकका प्रकाशचन्द्र नेपाल, धरानका हिमाल राई, ललितबहादुर राई, बलबहादुर तामाङ, नेत्र छन्त्याल, खिलराज राई, मोरङका बिक्रमजित लिम्बू, विष्णुलाल लिम्बू, योगेश तुम्बाहाम्फे लिम्बू, लोकसागर साम्बा, शम्भूकुमार श्रेष्ठ र अग्रिम खड्का ३ अंकमा छन्।

 

उनीहरुसँगै मोरङका हिमालचन्द्र लिम्बू, भिमकुमार लिम्बू, श्यामजुङ् थापा, तिर्थराज सुब्बा, रोहित सुब्बा, सुनसरीका मणिराज डाँगी र इटहरीका योगेश राईले खेलमा उपाधिको आशा जीवितै राखेका छन्।

 

प्रतियोगिताका निर्देशक खगेन्द्र थापाका अनुसार विजेताले नगद २० हजार, द्वितीय हुनेले १५, तृतीयले १० हजार, चौथोले ५ हजार र छैटौंदेखि दशौं स्थान हासिल गर्ने खेलाडीले जनही ३ हजार पुरस्कार प्राप्त गर्नेछन्।

 

विराट एक्स्पो २०८१ को अवसर पारेर मोरङको विराट चोकमा ७ गतेसम्म प्रदेशस्तरीय बुद्धिचाल खेल विराट चेस क्लबले आयोजना गरेको हो ।