काठमाडौं। पहिलोपल्ट बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै एफसी चितवन नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ।
दशरथ रंगशालामा आज भएको खेलमा चितवनले १-० को कठिन जित निकालेको हो। एनएसएलमा बुटवलमाथि चितवनको यो नै पहिलो जित हो। यसअघिका दुई संस्करणमा यी दुई टोलीले २-२ र १-१ को बराबरी खेलेका थिए।
यो नतिजासँगै चितवनले दुई खेलमा दुई जितसहित ६ अंक जोडेको छ। चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० ले हराउँदै सानदार सुरुआत गरेको थियो।
चितवन साबिक विजेता ललितपुर सिटी एफसीभन्दा दुई अंकले अगाडि रहेको छ। बुटवलको भने यो दोस्रो हार हो। झापा एफसीसँग गोलरहित बराबरी खेलेको बुटवल दोस्रो खेलमा धनगढी एफसीसँग ३-१ ले पराजित भएको थियो।
बुटवल भने एक अंकसाथ छैटौं स्थानमा छ। चितवनलाई लगातार जित दिलाउन घानाका अट्याकिङ मिडफिल्डर टोरिक जेब्रिनले गरेको गोल निर्णायक बन्यो। उनले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका हुन्।
नोडिर माभ्लोनोभले दिएको क्रसलाई उनले भिक्टर मानसरायसम्म पुर्याउन खोजेका थिए। तर, बुटवलका डिफेन्डर सरोज तामाङलाई लाग्दै रिबाउन्डमा आएको बललाई उनले पेनाल्टी बक्सबाहिरबाट लेफ्ट फुटेट सर्ट प्रयोग गर्दै जाली चुमाए।