इलाम । साविक विजेता डाँगीहाट एफसी मोरङलाई पराजित गर्दै ब्रदरहुड एफसी बेलका उदयपुर इलामको सन्दकपुर देउरालीमा जारी पॉचौ सन्दकपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

 

सात खाल्डे सहिद खेल मैदानमा आज भएको पहिलो सेमिफाइनलमा मोरङलाइ ४-२ गोलअन्तरले पराजित गर्दै पहिलोपटक सहभागिता जनाएको उदयपुर उपाधि नजिक पुगेको हो ।

 

प्रतिस्पर्धात्मक खेलमा ब्रदहुडको जितका लागि जेनिस प्रजापतिले दुई गोल गर्दा आकाश राइ र अमन लामाले एक एक गोल गरे ।मोरङको तर्फबाट सबिन राइले एक्लैले दुई गोल फर्काउँदै अग्रता छोट्याए पनि हार टार्न भने सकेन ।

 

खेलको प्लेयर अफ दि म्याच ब्रदरहुडका जेनिस प्रजापति घोषित हुँदै नगद दुई हजार पॉच सयसहित ट्रफी प्राप्त गरे । भोलि शनिबार अन्तिम सेमिफाइनलमा रेडहर्ष एफसी इलाम र बुट्टाबारी युनाइटेड झापाबीच खेल हुनेछ ।

 

देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा सञ्चालित प्रतियोगिताको विजेताले नगद २ लाख ५५ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ । उपविजेताले नगद १ लाख ५५ हजारमा चित्त बुझाउनु पर्नेछ । फाइनल खेल वैशाख १ गते हुनेछ ।