झापा । बुद्धशान्ति गाउँपालिका २ स्थित जयपुर बजारमा शुक्रबारदेखि ग्लोबल आइएमइको शाखारहित बैंकिङ सेवा सुरु भएको छ ।
ग्लोबल आइएमइ बैंक बिर्तामोड शाखाका प्रबन्धक पवनकुमार पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बुद्धशान्ति २ नम्बर वडा अध्यक्ष दिलिप श्रेष्ठले उद्घाटन गरेका हुन् ।
गाउँ गाउँमा आफ्नो सेवा प्रवाह गर्न प्रेरित ग्लोबल आइएमइलाई वडाध्यक्ष श्रेष्ठले धन्यवाद दिए । भएका बैंकहरु सहर केन्द्रित भएको भन्दै उनले ग्रामीण भेगमा पनि ग्लोबल आइएमइले सेवा विस्तार गरेकोमा खुसी पनि व्यक्त गरे ।
शाखारहित बैंकिङ सेवाको स्थापना भएपछि यस भेगमा रहेका व्यवसायीमात्र नभएर किसान, मजदुरले पनि लाभ लिने उनको भनाइ थियो । उनले भरसक शाखा कार्यालय स्थापनाका लागि पहल गर्न पनि सुझाएका थिए ।
बिर्तामोड शाखा प्रमुख पौडेलले बैंकले गाउँमा गएर सेवा पनि दिनुपर्ने तर सुरक्षाको प्रत्याभूति नहुने भएकाले शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याइएको बताए । सुरक्षाको प्रबन्ध मिलेको खण्डमा शाखाको कारोबार गर्न सकिने उनको भनाइ थियो ।

यस सेवामा बैंकको खाता खोल्न, मेसिनबाट पैसा जम्मा गर्न, निकाल्न, विदेशबाट रकम पठाउन र पाउन सकिने बताइएको छ । कारोबार गर्दा चेक, एटिएम नभएर फिंगर प्रिन्ट र नम्बरको प्रयोग हुने शाखा प्रमुख पौडेलले जानकारी दिए ।
यस सेवा कार्यालयमा दैनिक एक लाख रुपैयाँ जम्मा गर्न सकिनेछ भने ५० हजार निकाल्न मिल्ने बताइएको छ । त्यस्तै, दैनिक ५ लाख रुपैयाँबराबरको कारोबार गर्न मिल्ने यस सेवा कार्यालयलाई बैंकले धितो राखेर बिना ब्याज तीन लाख रुपैयाँ ऋण उपलब्ध गराउँदै आएको छ ।
झापामा चौथो सेवा कार्यालयको रुपमा स्थापना भएको कार्यक्रममा शाखारहित बैंकिङ सेवा सञ्चालक इन्द्रप्रसाद गिरीलाई वडाध्यक्ष श्रेष्ठ र प्रबन्धक पौडेलले प्रमाणपत्र, ट्याप मेसिन र सम्झौतापत्र हस्तान्तरण गरेका थिए ।
अर्जुनधाराको खुदुनाबारीमा पाँच वर्ष अघिदेखि ग्लोबल आइएमइको शाखारहित बैंकिङ सेवा सञ्चालन गरेका नरेन्द्र श्रेष्ठले आफ्ना अनुभव सुनाएका थिए ।
सञ्चालक गिरीले स्वागत गरेका कार्यक्रममा वडा सदस्य नेत्र गौतम, पत्रकार अमित खम्बू, प्रधानाध्यापक करण पराजुलीलगायतले बोलेका थिए ।
ग्लोबल आइएमइको नेपालभर १५७औँ सेवा कार्यालय रहेको छ भने आजै शान्तिनगरमा अर्को कार्यालय स्थापना गरिने बताइएको छ । झापामा ग्लोबलको धुलाबारी, चारआली, बिर्तामोड र दमकमा शाखा कार्यालय सञ्चालनमा छन् ।