फिदिम । पाँचथरको उत्तरी गाँउपालिका याङबरक-२ फलैचाका विभिन्न गाँउमा पहिरो जाँदा विभिन्न बस्तीका बासिन्दा जोखिममा परेर विस्तापित भएका छन्।चिङ्मा, धिमाले, सेपी, वेतेनी, मुक्लाबुङ, खोलाघारी लगायतका ठाउँमा ठाउँ–ठाउँमा पहिरो गएको स्थानीयले जानकारी दिएका छन्। चिङ्मामा बढी क्षति पुगेको बताईएको छ। एक घर पुरेको र बाँकी घरलाई पहिरोले क्षति पुर्‍याएको वार्ड सदस्य हरि अधिकारीले बताए। मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ। २४ परिवारभन्दा बढीलाई क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको अधिकारीले बताए।सडक आसपासबाट पहिरो गएको छ। यहाँका सडक अवरुद्ध बनेका छन्। यहाँका बासिन्दा भागेर सुरक्षित ठाउँमा पुगेका छन्। यहाँको मेजर चिङ्मा लद्युजलविद्युत आयोजना समेत बगाएको छ। ‘ठाँउठाँउमा सानो ठूलो पहिरो गएका छन्, कहाँ कति क्षति भयो भन्ने खुल्न सकेको छैन’, स्थानीय डिल्ली ओलीले जानकारी दिए। उनका अनुसार पशु चौपाया कति बगायो भन्ने पनि यकिन छैन।

घटनाको खवर पाएपछि च्याङ्थापु र फलैचा प्रहरी चौकीबाट प्रहरी खटाईए पनि घटनास्थल पुगिनसकेको पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए। भौगोलिक विकटता तथा सडक अवरुद्ध हुँदा प्रहरी पुग्न कठिन भएको उनले जानकारी दिए।घटनास्थलमा खटिएका च्याङ्थापु प्रहरी चौकीका प्रमुख जिवन कार्कीका अनुसार ठाँउठाँउम पहिरो गएको खवर आएको छ। घटना स्थलबाट मानवीय क्षति नभए पनि ठूलो समुह विस्तापित भएको जानकारी आएको उनले जानकारी दिए।घटनाको जानकारी पाइएकाले बुझ्ने काम भईरहेका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिए। उद्वार र राहतका लागि टोली र राहत सामग्री पठाउने तयारी भइरहेको उनले जानकारी दिए।