झापा । पाहुना टोली इलाम नयाँ बजारको रेड डेभिड क्लबमाथि सानदार जित दर्ता गर्दै आयोजक होक्से युवा क्लबले तेस्रो संस्करणमा विजयी सुरुवात गरेको छ ।
बुद्धशान्ति १ स्थित त्रिभुवन माविको खेलमैदानमा आजदेखि सुरु होक्से च्यालेञ्ज कप फुटबलको उद्घाटन खेलमा आयोजकले इलाममाथि ६-२ गोलअन्तरको जित निकालेर सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
पहिलो हाफमै ४-० गोलको अग्रता बनाएको आयोजकले दोस्रो हाफमा थप दुई गोल गरेको हो भने इलामका लागि पनि दोस्रो हाफमै दुई गोल सम्भव भएको हो ।
आयोजकका लागि जेनिथ बरालले ह्याट्रिक पूरा गर्दा पुजन थापा, सागर रसाइली र श्याम मुर्मुको नाममा १-१ गोल रह्यो । यस्तै, इलामका लागि विवश राई र राजेश दाहालले मात्र गोल फर्काएका थिए ।
खेलको प्लेयर अफ दी म्याच आयोजकका ह्याट्रिककर्ता जेनिथ बराल भए । उनले नगद एक हजार पाँच सय पाए । होक्से युवा क्लबले आयोजना गरेको प्रतियोगितामा भोलि (आइतबार) शनिश्चरे एफसीले जलथल एफसी झापासँग प्रतिस्पर्धा गर्नेछ ।
असोज ११ गते हुने फाइनल खेलको विजेताले नगद १ लाखसहित आकर्षक ट्रफी पाउँदा उपविजेताले नगद ५० हजारमा चित्त बुझाउनु पर्नेछ ।