झापा (एजेन्सी) । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

 

त्यसैगरी आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ ।

 

यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सूचना निकालेर सोमबारसम्म काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, रसुवा, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा र मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही र आसपासका जिल्लामा बढी सतर्कता आवश्यक रहेको भनिएको छ ।