अर्जुनधारा । जुकेखाडी सामुदायिक वन उपभोक्त समितिले आफ्नो क्षेत्रमा रहेका ५ असाहय उपभोक्ताहरुलाई यस वर्ष निःशुल्क घर निर्माण गरिदिएको छ ।

गरिबी न्यूनीकरण कार्यक्रमअन्तर्गत ३५ प्रतिशत विनियोजित रकमबाट ५ जनालाई घर निर्माण गरिदिएको हो । अर्जुनधारा-७ स्थित रमाइलोबस्तीमा ९६ वर्षीय कूलप्रसाद पौडेलेलाई ताला खोलेर घर जिम्मा लगाउँदै वन प्रमुख विष्णु घिमिरेले आफ्ना समुदायमा जुकेखाडीले पुर्याएको योगदानप्रतिको प्रशंसा गरेका थिए ।

प्रमुख अतिथि समेत रहेका जिल्ला वनका प्रमुख घिमिरेले सामुदायिक वन आम उपभोक्ताको साझेदारीसँगै संरक्षण गर्ने जिम्मा भएको हुनाले वनलाई संरक्षण गर्न सके सामुदायिक वनले गरिबी न्यूनीकरण अन्तर्गत यसरी नै आउने सालमा पनि अन्य घरहरु बनाउन सक्ने बताए ।

उनले वनलाई सम्पत्तिको रुपमा मात्र लिएर तहसनहस गर्ने सोचमा लाग्यौं भने आउने सन्ततिहरुलाई गम्भीर समस्या आइपर्ने बताए । यस क्षेत्रका वृहत उपभोक्ताहरुको उपस्थिति रहेको कार्यक्रममा प्रमुख घिमिरेले वन प्राकृतिक सम्प्रदा मात्र नभई मानवसँगको सम्बन्ध रहेको हुँदा यसको संरक्षण समूहभित्रकाले गर्नुपर्ने जोड दिए ।

घर हस्तान्तरण कार्यक्रममा अर्जुनधारा ७ का वडाध्यक्ष नविन ढुंगानाले वडामा बन्दै गरेका यस्ता सकारात्मक कार्य वडालाई थाहा दिए अझ मिलेर राम्रो काम गर्न सकिने बताए । उनले छुटेका उपभोक्ताहरुलाई कुनै न कुनै ठाउँमा समेटेर सामुदायिक वनले सेवा प्रदान गर्नुपर्ने बताए ।

कार्यक्रममा जुकेखाडी सामुदायिक वनका अध्यक्ष दिव्य कट्टेलले २ वर्षभित्रमा सामुदायिक वनले गरिबी न्यूनिकरणमा परेका १० घर परिवारलाई घर निर्माण गरिदिएको जानकारी दिए ।

उनले नगरसँग मिलेर घर निर्माण कार्य गर्नका लागि बारम्बार अनुरोध र जानकारी दिँदा पनि नगरले चासो नदिएको हुँदा हामी एक्लै यस्ता कार्यमा जुटेको प्रतिक्रिया दिए ।

यस पटक समूहको पाँच वटै टोल अन्तर्गत १ मा कमला राई, २ मा पुष्पा गुरुङ, ३ मा मनमाया थेवे, ४ मा प्रेमबहादुर प्रसाई र ५ मा कूलप्रसाद पौडेल रहेको जानकारी दिएका छन् । एउटा घर निर्माण गर्न ३ लाख ५९ हजार १८३ रुपैयाँ लागेको जानकारी दिए । कार्यक्रममा स्वागत उपाध्यक्ष नारायण पौडेल र सञ्चालन सरीता भण्डारीले गरेकी थिइन् ।

कार्यक्रममा पूर्व समितिका अध्यक्ष तुलसी खतिवडा, पूर्व उपाध्यक्षद्वय दुर्गा कटुवाल, दुर्गा न्यौपाने लगायतको आतिथ्य रहेको थियो । ९६ वर्षीय कूलप्रसाद पौडेलले घरको ताला हातमा लिँदै हामीजस्ता ज्येष्ठ असाहयहरुलाई सामुदायिक वनले पुर्याएको सहयोग सदैव सम्झनयोग्य रहने बताए । उनले घर हस्तान्तरण कार्यक्रममा उपस्थित सबैलाई रातो टीका लगाएर खुसी साटेका थिए ।