एकतप्पा (इलाम) । पाँचथर फाक्तेपको नाम्तोक एफसी इलामको फाकफोकथुम ७ स्थित दोकान डाँडामा आयोजित एकतप्पा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

स्थानीय जनकल्याण माविको मैदानमा क्रिएटिभ सोसिएल स्पोर्टिङ क्लबले आयोजना गरेको गोल्डकपको उद्घाटन खेलमा पोखरी युथ एफसी फाकफोकथुम ६ लाई १-० गोलअन्तरले पराजित गर्दै नाम्तोक सेमिफाइनलमा प्रवेश गरेको हो ।

 

नाम्तोकका लागि निर्णायक गोल लक्ष्मण लिम्बूले दोस्रो हाफको ३ मिनेटमा गरेका थिए । यसैगरी, दोस्रो हाफको १८औँ मिनेटमा पोखरी युथका गोलरक्षक निकाश राईले रेड कार्ड पाएपछि खेल केही समय अवरुद्ध भएको थियो । नाम्तोकका गोलकर्ता लक्ष्मण लिम्बू प्लेयर अफ दि म्याच घोषित भए ।

 

प्रतियोगिताको फाइनल खेल कात्तिक ४ गते हुनेछ । विजेताले १ लाख २६ हजार ८९ रुपैयाँ पाउँदा उपविजेताले नगद ६६ हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । यसैगरी, सर्वोत्कृष्ट खेलाडी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक र सर्वाधिक गोलकर्ताले नगद २ हजार २ सय र ट्रफी पाउने आयोजकले जनाएको छ ।

 

भोलि दुई वटा खेलहरु हुनेछन् । पहिलो खेल हाङमाचुली एफसीले कोलबोटे एफसीसँग खेल्नेछ भने दोस्रो खेलमा फक्ताङलुङ एफसी मिक्लाज’ङ पाँचथरले फाल्गुनन्द, पितामरु, डिएक्सएन एफसी इलामसँग प्रतिस्पर्धा गर्नेछ ।

 

आयोजक क्रिएटिभका अध्यक्ष पदम योङहाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनाल, ७ नम्बर वडाध्यक्ष चित्रबहादुर योङहाङ, खेल संयोजक युवराज लिम्बूले आफ्ना भनाइ राखेका थिए भने आयोजकका उपाध्यक्ष विवेक योङहाङले स्वागत गरेका थिए ।