खुदुनाबारी (झापा)। खुदुनाबारी एफसी र सातकटेरी एफसी अर्जुनधारा नगरपालिका २ स्थित वडा खेलमैदानमा जारी एसवाईएस प्रथम खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

 

आज भएको पहिलो खेलमा शनिश्चरे एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै खुदुनाबारी सेमिफाइनलमा प्रवेश गरेको हो । खुदुनाबारीको जितका लागि खेलको १९औं मिनेटमा रमेश क्षेत्रीले गरेको गोल नै निर्णायक बन्यो ।

 

खेलको प्लेयर अफ दि म्याच बनेका रमेश क्षेत्रीलाई कार्यक्रमका प्रमुख अतिथि निवर्तमान वडाध्यक्ष रघुनाथ खनाल, आयोजक सचेत युवा समूहका अध्यक्ष राजा साँवालगायतले नगद एक हजारसहित ट्रफी प्रदान गरेका थिए ।

 

आजै भएको दोस्रो खेलमा नव विहानी फुटबल क्लब इलामलाई टाइब्रेकरमा ३-२ गोलअन्तरले पराजित गर्दै सातकटेरी सेमिफाइनलमा प्रवेश गरेको हो ।

 

 

निर्धारित खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । खेलको प्लेयर अफ दि म्याच विजेता टिमका गोलरक्षक सागर फ्याकलाई दाता रुजन राईलगायतले नगद एक हजारसहित ट्रफी प्रदान गरेका थिए ।

 

आइतबारको पहिलो सेमिफाइनल खेल होक्से फुटबल क्लब बुद्धशान्ति र खुदुनाबारी फुटबल क्लब अर्जुनधारा तथा दोस्रो खेल ब्रदर्स युनाईटेड फुटबल क्लब भद्रपुर र सातकटेरीबीच हुने आयोजक समूहका सचिव शिव भट्टराईले जानकारी दिए ।

 

झापा र इलामका १६ वटा टिम सहभागी भएको प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ । च्याम्पियन बन्ने क्लबले नगद ५० हजारसहित ट्रफी पाउँदा उपविजेताले नगद ३० हजारमा चित्त बुझाउनु पर्ने आयोजक क्लबका अध्यक्ष साँवाले जानकारी दिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद ३ हजार ५ सय प्रदान गरिँदा सर्वाधिक गोलकर्ता, बेस्ट फरवार्ड, बेस्ट डिफेन्स र राइजिङ प्लेयरलाई जनही २ हजार ५ सयसहित ट्रफी प्रदान गरिने छ ।