बिर्तामोड । सर्वाधिक राशिको एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बन्न दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब भोलि आमनेसामने हुँदैछन् ।

 

झापाको दुधे रंगशालामा आइतबार भएको प्रि-म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोली उपाधिका लागि पूर्णरूपमा तयार रहेको बताएका छन् ।

 

एपिएफका प्रशिक्षक जिवेश पाण्डेले फाइनलमा अहिलेसम्म पराजय नभोगेको आत्मविश्वास व्यक्त गर्दै टोलीले यसपटक पनि उपाधि रक्षा गर्ने दाबी गरेका छन् ।

 

त्यस्तै, कप्तान अनिता बस्नेतले भनिन्, ‘हाम्रो टोली सधैँ ट्रफीका लागि खेल्छ । झापाको मैदानमा हामी पुलिसलाई रोक्दै अर्को उपाधि थप्नेछौँ ।’

 

नेपाल पुलिस क्लबका प्रशिक्षक भोला सिलवालले भने रेखा पौडेल र पूजा रानामगरको तालमेलमाथि विश्वास गरेको बताए । अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गरिरहेको उल्लेख गर्दै उनले यसपटक एपिएफलाई हराएर उपाधि रक्षा गर्ने दाबी गरे ।

 

पुलिसकी कप्तान अमृता जैशीले भने विगतका हारलाई बिर्सन झापामा टोली तयार रहेको सुनाइन् । ‘हामीले विगतमा धेरैपटक एपिएफसँग पराजय व्यहोरेका छौँ, तर यसपटक ट्रफी लिएर जानेछौँ’, उनले भनिन् ।

 

फाइनल खेलमा झापाका फुटबलप्रेमीहरूको ठुलो भीड हुने अनुमान गरिएको छ । भोलि दिउँसो हुने फाइनलमा देशका शीर्ष महिला खेलाडीहरू एउटै मैदानमा भिड्दै गर्दा झापाको दूधे रंगशाला एक निर्णायक क्षणको साक्षी बन्नेछ ।

 

आयोजक समितिका अनुसार दर्शकका लागि टिकट दर सामान्यतर्फ ३०० र ५०० रुपैयाँ तथा भिआइपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ ।

 

विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँका दरले पुरस्कार पाउने छन् । हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।