झापा । झापाको अर्जुनधारामा राष्ट्रियस्तरको महिला खुल्ला भलिबल प्रतियोगिता हुुने भएको छ । प्रतियोगिता यही मंसिर १७ गतेदेखि २१ गतेसम्म हुनेछ ।
प्रतियोगितामा नेपालका उत्कृष्ट ६ वटा टिमको सहभागिता रहने आयोजक नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर जनाएको हो । लक्ष्मी माविको खेल मैदानमा हुने प्रतियोगितामा कोशी प्रदेशको एउटा टिम, नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी, न्यु डायमण्ड र एभरेस्ट भलिबल क्लबको सहभागिता रहने छ ।
लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा बेष्ट अफ फाइबको सेटमा खेलाइने छ । प्रतियोगिताको विजेताले नगद २ लाखसहित ट्रफी पाउने छ ।
यसैगरी, उपविजेताले १ लाख र तेस्रो हुने दुई टिमले नगद ३० हजारका दरले पुरस्कार पाउने छन् । यसैगरी बेस्ट प्लेयरले १५ हजार पाउँदा अन्य ५ विधागतमा जनही १० हजार प्रदान गरिनेछ भने प्रत्येक खेलको उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ पाउने आयोजक समितिका सल्लाहकार वीरबहादुर राईले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न २७ लाख ६५ हजार रुपैया खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीको सहभागिता रहने बताइएको छ ।
अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले नगरलाई खेलकुदको हब बनाउनका लागि पनि विभिन्न खेलकुद गतिविधिलाई प्राथमिकतामा राखेको जानकारी दिए ।
महिला भलिबल प्रतियोगितालाई गौरवको रुपमा लिँदै खेलकुदको क्षेत्रबाट युवालाई सकारात्मक बाटोमा डोहोर्याउन नगरपालिका सधैँ लागिपर्ने उनको दाबी छ ।
नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष मदन खड्कालगायतले प्रतियोगिताबारे धारणा राखेका थिए ।