बिर्तामोड । पाहुना टोली भुटानको रोयल थिम्पु कलेजमाथि सहज जित निकाल्दै सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले झापा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ ।
कप्तान हरि कार्कीको ह्याट्रिक मद्दतमा भुटानलाई ४-१ गोलअन्तरले पराजित गर्दै एपिएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । खेलमा एपिएफले भुटानलाई दबाबमा राखेको थियो । खेलको छैटौँ मिनेटमै एपिएफका लागि स्ट्राइकर प्रदिप लामाले सम्झनलायक गोल गर्दै अग्रता बनाएका थिए ।
एपिएफका कप्तान हरि कार्कीले खेलको १८औँ मिनेटमा दिपेश धिमालले डिबक्समा मिलाइदिएको पासलाई गोल गर्दै अग्रता दोब्बर बनाए । एपिएफका लागि तेस्रो गोल २२औँ मिनेटमा समिराज थोकरले गरेको प्रहार भुटानका गोलरक्षक टासी नोर्बुबाट रिबाउन्स भएको बललाई सदुपयोग गर्दै सम्भव भएको थियो ।
खेलको ८३औँ मिनेटमा थप गोल गर्दै एपिएफका कप्तान कार्कीले ह्याट्रिक पूरा गरे । भुटानका गोलकिपरबाट रिबाउन्स भएको बललाई डिबक्समा अनमार्क रहेका कार्कीले गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
भुटानका लागि एकमात्र सान्त्वाना गोल पेनाल्टीबाट सम्भव भयो । खेलको ७९औँ मिनेटमा किन्जाङ तेन्जिङ शेर्पालाई एपिएफका दिपेश धिमालले डिबक्समा फाउल गरेपछि भुटानले पेनाल्टी पाएको थियो । शेर्पाले नै पेनाल्टीमार्फत गोल गरेका थिए ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफका ह्याट्रिककर्ता हरि कार्की घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । बिहीबारको अन्तिम क्वाटरफाइनल खेल मछिन्द्र एफसी र एन पेनाङ एफसी मलेसियाबीच हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।