मेचीनगर । झापाको काँकरभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्रिने लत्ताकपडाको तस्करी अझै रोकिएको छैन। सुरक्षाकर्मीले मंगलबार दिउँसो झण्डै १९ लाखबराबरको लत्ताकपडा बरामद गरेको छ ।
मेचीनगर ७ सुन्दर टोल क्षेत्रमा ठूलो परिमाणमा भन्सार छलीका सामान बरामद गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले भारतबाट भन्सार छलेर ल्याई भण्डारण गरिएको ठूलो मात्रामा लत्ताकपडा, कस्मेटिक सामग्री तथा हार्डवेयरका सामान बरामद गरेको छ ।
संयुक्त टोलीले स्थानीय कोपिला तामाङको घरमा खानतलासी गर्दा घरभित्र लुकाइराखिएको ठूलो परिमाणको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएका सबै सामग्री आवश्यक कानुनी प्रक्रियापछि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ।
सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेडक्वाटर झापाका निमित्त गणपति तथा डिएसपी मदनकुमार रसाइलीका अनुसार बरामद गरिएका सामानको भन्सार मूल्य १८ लाख ७४ हजार ९१० रुपैयाँ कायम गरिएको छ।