काठमाडौँ । देशभर केही दिनदेखि सक्रिय रहेको मनसुनी प्रणालीको प्रभाव हिजो दिउँसोदेखि केही कमजोर देखिएको छ । हिजो बिहानसम्म देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भए पनि दिउँसोपछि पानी पर्ने क्रम घटेको छ ।
आज बिहानैदेखि काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा चर्को घाम लागेको छ । आकाश आंशिकदेखि सामान्य बदली भए पनि मनसुनी गतिविधि कमजोर देखिएको छ । महाशाखाका अनुसार आज देशभर सामान्य बदली रहनेछ ।
हिमाली तथा पहाडी भूभागका केही ठाउँमा मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना रहेको छ भने तराईका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ । तर, आज देशका कुनै पनि ठाउँमा ठूलो वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भोलि भने मनसुनी गतिविधि केही सक्रिय हुने सम्भावना छ । भोलि बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ ।