शनिश्चरे । झापाको अर्जुनधारा नगर क्षेत्रमा डेंगु रोगको रोकथामका लागि एकसाथ ‘लार्भा खोज्ने र नष्ट गर्ने’ अभियान सुरु गरिने भएको छ ।

 

नगरपालिकाको स्वास्थ्य शाखाले आज आयोजना गरेको किटजन्य रोगको प्रकोप नियन्त्रण तथा रोकथामसम्बन्धी सरोकारवालासँगको अभिमुखीकरणमा भदौ पहिलो सातादेखि अभियान सञ्चालन गर्ने सहमति भएको हो ।

 

डेंगु रोगको उच्च जोखिममा रहेको यस नगरपालिकामा हालसम्म ३ जनामा संक्रमण भइसकेको तथ्यांक छ । झापा जिल्लाभरि गरिएको एक हजार ८३ जनाको परीक्षणमा ३० जनामा संक्रमण देखिएको हो ।

 

सामाजिक विकास शाखाका संयोजक कौशीलाल परियारको अध्यक्षतामा भएको कार्यक्रमबाट सबै वडामा विद्यालय स्तरबाटै ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु हुने भएको छ । यस्तै, स्वास्थ्य शाखाको तर्फबाट जोखिममा रहेका वडाका सहर बजारमा विशेष अभियान सञ्चालन गरिने शाखा प्रमुख राजेन्द्र कुइँकेलले जानकारी दिए ।

 

स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सरोकारवालाको सहभागिता रहेको कार्यक्रममा विशेषगरी डेंगुसँगै जापनिज इन्सेफ्लाइटिस र स्क्रब टाइफसको पनि उत्तिकै जोखिम रहेको बताइयो । उस्तै लक्षण तर फरक रोग हुने भएकाले लामखुट्टे, भुसुना र किर्नाबाट रोग सर्ने बताइयो ।

 

यस रोग संक्रमण भए मान्छेमा उच्च ज्वरो आउने, टाउको, पेट दुख्ने, वाकवाकी लाग्ने, जोर्नी दुख्ने, रक्तश्राव हुने, विमिरा आउने, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग दुख्नेजस्ता लक्षण देखा पर्ने गर्छ ।

 

करिब १ महिनासम्म आयु रहेको यस लामखुट्टेको टोकाइ र डेंगुको संक्रमणबाट बच्नका लागि जमेका पानी सफा गर्ने, अनावश्यक पानी जम्न नदिने र लार्भा खोज तथा नष्ट अभियानमात्र विकल्प रहेको बताइएको छ ।

 

घर वरिपरि रहेका भाँडा, गमला, प्लास्टिकको सामग्री, ड्रम, टायरलगायतमा जमेको पानीमा यस लामखुट्टेको बासस्थान रहने र त्यही अण्डा पार्ने यसको जीवनचक्र रहेको छ भने यसले साँझपख मात्र मानिसलाई टोक्ने उनको भनाइ छ । जमेको सफा पानीमा यसले आफ्नो बासस्थान बनाउने गरेको छ ।